
काठमाडौं, २९ भदौ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गरेका छन् ।
आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि जावेदले अध्यक्ष तिमिल्सिनासँग भेट गरेका हुन् । भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो ।
भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा राजदूत जावेदलाई बधाई व्यक्त गर्दै आगामी दिनमा थप सफलताको शुभकामना प्रकट गरे ।
नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि निकट र आत्मीय सम्बन्ध रहँदै आएको तिमिल्सिनाले बताए । उनले दक्षिण एशियाली क्षेत्रीय संगठन, संयुक्त राष्ट्रसंघ, अन्तर–व्यवस्थापिका संघ लगायत संस्थामा दुई देश एकैठाउँमा रहेकाले दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको धारणा व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनस्तरको सम्बन्ध जस्ता धेरै क्षेत्रहरु दुई मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिदै कोरोना भाइरसको महामारीको कारण संसारमा नयाँ चुनौती सृजना भएकाले पारस्परिक साथ र सहयोगका साथ अगाडि बढ्नुपर्ने बताए ।
उनले क्षेत्रीय संगठन सार्कका सदस्य राष्ट्रले अहिलेको चुनौती सामना गर्न सहकार्य गर्न जरुरी रहेको तिमिल्सिनाको भनाइ छ । ‘दक्षिण एशियाली जनताहरूको हित प्रबर्द्धनका लागि सार्कले आफ्ना गतिविधि अघि बढाउनुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘सार्कको अध्यक्षको हैसियतले नेपालले सार्क गतिविधि अघि बढाउनका लागि पहल गरिरहेको छ ।’

उनले नेपाली विद्यार्थीहरूलाई मेडिकल, इन्जिनीयरिङलगायत विषयको अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएकोमा पाकिस्तान सरकारलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्धलाई मजबुद बनाउन उच्चस्तरीय भ्रमणको आवश्यक रहेको धारणा राख्दै पाकिस्तान सिनेटका अध्यक्ष मुहम्मद सादिक सन्जरानीलाई नेपाल भ्रमणका लागि निम्ता समेत गरेका छन् ।
‘दुई देशबीचको संसदीय अनुभवहरू आदान–प्रदान गर्न र आवश्यक सहकार्य गरेर अघि बढ्नु दुवै देशको हितमा हुन्छ’, उनले भने, ‘संसदीय सहकार्यमा दुईपक्षीय तथा अन्तर्राष्ट्रिय फोरमा हामीले सहकार्य गर्नुपर्छ ।’
भेटमा राजदूत जावेदले दुई देशको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहेको बताउँदै नेपालमा रहँदा सरकार र जनस्तरसम्म नजिकबाट सहकार्य गर्नपाएकोमा खुशी व्यक्त गरे । उनले पाकिस्तान दक्षिण एसियाली देशको सहकार्य, स्थायित्व, शान्ति, समृद्धीको पक्ष रहेको समेत बताएका छन् ।
दुई देशको संसदबीचको सहकार्य बढाउनुपर्ने बताउँदै राजदूत जावेदले संसदीय मैत्री समूहमार्फत गतिविधि बढाउनुपर्ने धारणा व्यक्त गरे । ‘यहाँको पाकिस्तान भ्रमणका लागि हाम्रो सिनेट अध्यक्षले निमन्त्रणा गरिसक्नुभएको छ’, उनले भने, ‘पाकिस्तान संसद यहाँको स्वागतको प्रतिक्षामा रहेको छ ।’















प्रतिक्रिया