१ कार्तिक २०८३, शनिबार

डा. गोविन्द केसीद्वारा बाबिरा मस्ट मन्दिरमा सत्याग्रह शुरु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, २९ भदौ । डा. गोविन्द केसीले सोमबारदेखि १९औं पटकको सत्याग्रह शुरु गरेका छन् ।

विभिन्न ६ बुँदे माग अघि सारेर जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा उनी सत्याग्रहमा बसेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसलगायत कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनको प्रमुख माग छ ।

यस्तै गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन शुरू गर्न उनले माग गरेका छन् । प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन् ।

यस्तै मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने पनि उनको माग छ ।

कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने भन्दै उनले २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्नेलगायत माग अगाडि सारेका छन् ।

विभिन्न माग राख्दै पटक–पटक सरकारलाई अल्टिमेटम दिँदै आएका केसीले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित दर्जनौं माग अगाडि सार्दै यसअघि १८औं पटकको सत्याग्रह बसेका थिए । तर, सरकारले आफूसँग गरेको सहमति र सम्झौताहरु कार्यान्वयन नगरेको भन्दै उनी जहिल्यै रुष्ट छन् ।