बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा

दैनिक नेपाल २०७७ भदौ २९ गते १४:३६

काठमाडौं, २९ भदौ । सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा छनोट भएको छ ।

सोमबार भर्चुअल प्रेस मिटसँगै बुसानले यो सालको लाइनअप सार्वजनिक गरेको हो । सार्वजनिक लाइनअप अनुसार ‘ऐना झ्यालको पुतली’ बुसानको सबैभन्दा ठूलो पुरस्कार राशी रहेको ‘न्यू करेन्ट सेक्सन’मा छानिएको हो । यो सेक्सनमा नेपालसँगै विभिन्न देशका १० फिल्म छनोट भएका छन् ।

कुनै पनि निर्देशकको पहिलो र दोस्रो फिल्म मात्र छनोट हुने प्रावधान रहेको ‘न्यू करेन्ट सेक्सन’ मा विजेता बन्ने दुई फिल्मले ३० हजार अमेरिकी डलर (नेरु ३५ लाख) प्राप्त गर्ने छन् । योसँगै ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म भएको छ ।

यसअघि नवीन सुब्बा निर्देशित ‘गुडबाई काठमाडौं’ न्यू करेन्टपछि सर्वाधिक पुरस्कार राशी रहेको किम जेसिओके अवार्डमा छनोट भएको थियो । किम जेसिओके अवार्डमा पनि दुई फिल्मलाई नै पुरस्कृत गरिन्छ तर यसको रकम १० हजार अमेरिकी डलर मात्र रहेको छ ।

कान्स, बर्लिन, टोरन्टो, सन्डान्सपछि प्रतिष्ठित मानिने बुसानको यो २५ औं संस्करण हो । कोभिड–१९ को महामारीका कारण भर्चुअल रूपमा सम्पन्न हुने फेस्टिभल यो साल अक्टोबर २१ मा शुरू भएर ३० मा सकिने छ ।

लेखक/निर्देशकको रूपमा ‘ऐना झ्यालको पुतली’ फिचर फिल्मतर्फ सुजितको डेब्यु हो । सुजितले यसअघि ‘सावित्री’को लेखन तथा निर्देशन गरेका थिए जुन १४ मिनेट अवधिको लघु फिल्म थियो ।

फिल्मले पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीया बालिका (विद्या)को शहरमा गएर पढ्ने सपनालाई विषय बनाइएको छ । तर, जतिचोटी उनी सपनाको नजिक पुग्छिन् कुनै न कुनै बाधा आइपरेर उनको त्यो सपना भताभुंग हुन्छ ।

सुजितले बालिकाको पढ्ने सपनालाई ऐना जस्तो झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर कथानक तयार गरेको बताए । ‘ऐना झ्यालमा अड्किएको पुतलीले बाहिर के छ सबै देख्छ तर जति प्रयास गरे पनि निस्कन सक्दैन । हाम्रो फिल्मको मुख्य पात्रको अवस्था पनि त्यस्तै छ’, ‘सुजितले भने, ‘उसलाई बाहिर निस्कन छ, तर हरेक पटक उसको प्रयासमा केही न केही अड्चन आइरहन्छ । यसमा हामीले हाम्रो देशका महिलाको पनि प्रतिविम्ब देख्न सक्छौं ।’

विद्या र उनको ९ वर्षका भाइ (बसन्त) बीचको बालसुलभ सम्बन्ध पनि फिल्ममा मियोको रूपमा रहेको सुजितले बताए । ‘ दिदीले आफ्नो सपनामा बिट मार्न लागेको देखेपछि उनलाई मद्दत गर्न भाइले गर्ने प्रयत्न फिल्मको महत्वपूर्ण हिस्सा हो । यो सम्बन्धमार्फत् फिल्मले पितृसत्तात्मक सोचमा पनि बदलाव आउनु पर्ने आवश्यकतालाई इंगित गरेको छ’, सुजितले भने ।

सवा करोड हाराहारीको बजेटमा बनेको फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्ममा अधिकांश नयाँ कलाकारको अभिनय छ ।

आइसफल प्रडक्सन र लोकल सिनेमाको संयुक्त ब्यानरमा बनेको फिल्मलाई आकाश पौडेल, प्रबिन स्याङ्बो, सुजित बिडारी, रामकृष्ण पोखरेल र सुशान्त श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पसंगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहेको छ ।

‘ऐना झ्यालको पुतली’को निर्मातामध्येका एक रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको अर्को फिल्म ‘रिभर इन दि मिरर’ पनि बुसानकै एशियन प्रोजेक्ट मार्केटमा छानिएको छ । निर्माता पोखरेलले यो फिल्म भुटानी निर्माता/निर्देशक टासी ग्याल्क्षेनसँगको सहकार्यमा निर्माण गर्न लागेका हुन् ।

एशियन प्रोजेक्ट मार्केट एसियाका फिल्ममेकरका लागि प्रोड्युसिङ पार्टनर खोज्ने उत्कृष्ट प्लेटफर्म मानिने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित