
काठमाडौं, २९ भदौ । स्वास्थ्य उपकरण खरिद प्रक्रियामा विवादित बनेको ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालोसूचीमा परेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै ओम्नीलाई एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा सोमबारबाट लागू हुने गरी ओम्नीलाई कालोसूचीमा राखेको बताइएको छ ।
स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण देखिएसँगै विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन यो समूहसँग सम्झौता गरेको थियो । तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भएको थियो भने ओम्नी समूह विवादित बन्दै आएको थियो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार प्रकाशित गरेको कालोसूचीसम्बन्धी सूचनाअनुसार ओम्नीसँगै ताप्लेजुङको मौवाखोला–१ स्थित अरुण कन्ट्रक्सनलाई १ वर्ष तथा बत्तिसपुतलीस्थित बीटी निर्माण सेवा, टौदह कन्ट्रक्सन र दोलखाको फस्कु निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको छ ।















प्रतिक्रिया