काठमाडौं, २९ भदाै । शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलद्वारा उत्पादित फलामका डन्डी (रड)को गुणस्तर कमजोर देखिएपछि सरकारले बिक्री वितरणमा रोक लगाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ ।
आफूलाई नेपालको नम्बर एक गुणस्तरीय सामग्री बेच्ने दाबी गर्दै उपभोक्ता झुक्याउँदै आएको जगदम्बा स्टिल्सले अहिले गुणस्तरहीन फलामे डन्डी बिक्री गरी उपभोक्तालाई चरम ठगी गर्दै आएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको हो ।
विभागले शुक्रबार सो कम्पनीलाई स्पष्टीकरण पत्र लेखेर जगदम्बाले उत्पादन गरेको ‘१६ एमएमको टिएमटी बार’ फलामे डन्डी बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो । कारबाहीस्वरूप विभागले १६ एमएम साइजमा इजाजत रोक्ने, सो उद्योगबाट उत्पादित करिब ३ सय टन गुणस्तरहीन फलामे डन्डीलाई विभागका प्रतिनिधिको रोहवरमा स्क्राप (नष्ट) गरी बिक्री वितरण हुन नदिने निर्णय गरेको छ ।
विभागको निर्णयअनुसार जगदम्बाको बजारमा गएका ती सबै रड फिर्ता गर्नुपर्नेछ । जगदम्बा स्टिल्स उद्योगबाट उत्पादित फलामे डन्डीको नमुना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गराउँदा तोकिएको गुणस्तरको मापदण्डअनुरूप नपाइएपछि विभागले कारबाहीको प्रक्रिया अघि बढाएको हो ।
संकलित नमुनाअनुसार जगदम्बा स्टिलले आफ्नो उत्पादनमा कार्बोनको मान ०.३० प्रतिशत हुनुपर्नेमा अधिकतम ०.३५ प्रतिशत राखेकोे र सल्फरको परिमाण ०.०५५ प्रतिशत हुनुपर्नेमा अधिकतम ०.०६० प्रतिशत भेटिएको विभागले जनाएको छ ।
मापदण्ड परीक्षण गर्ने क्रममा सो उद्योगको डन्डी न्यून गुणस्तरको पाइएकाले नेपाल गुणस्तर प्रमाण चिह्न ऐन–२०३७ तथा नियमावली, २०४० को नियम (१६) बमोजिम कानुनी कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जगदम्बाले डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि त्यस्तो गुणस्तरहीन डन्डी बिक्रीमा रोक लगाउनुपरेको बताए । गुणस्तरको विषयमा उपभोक्ताको गुनासो आएपछि प्रयोगशालामा परीक्षण गर्दा यस्तो कमजोरी भेटिएको जानकारी गराउँदै उनले मापदण्डअनुसार नभएपछि बिक्रीमा रोक लगाइएको बताए । उनले अहिले सो ब्याचको सम्पूर्ण रड बजारबाट फिर्ता लिनसमेत निर्देशन दिइएको जानकारी गराए ।
अब बजारमा बिक्री गरेको गुणस्तरहीन उत्पादन फिर्ता लिएर जानकारी गराउनसमेत सो उद्योगलाई निर्देशन दिएको बताउँदै पुडासैनीले भने, ‘विभागको निर्देशन अटेर गरे थप कारबाही हुन्छ ।’ निर्देशनअनुसार जगदम्बाले बजारमा बिक्री गरेका करोडौं रुपैयाँ मूल्यका डन्डी फिर्ता लिनुपर्नेछ ।
उजुरीका आधारमा उद्योगबाट उत्पादित १६ एमएमको टिएमटी बार फी ५०० को नमुना विभागको प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएको थियो । कार्बनको मान ०.३० प्रतिशत (म्याम्स) हुनुपर्नेमा ०.३५ प्रतिशत, सल्फरको मान ०.०५५ प्रतिशत हुनुपर्नेमा ०.०६० प्रतिशत र बेन्ड टेस्टमा क्र्याक देखिएकाले सो परीक्षण नतिजा सम्बन्धित नेपाल गुणस्तर १९१ बमोजिम नरहेको विभागका निर्देशक सञ्जीवकुमार ठाकुरले जगदम्बा स्टिल प्रालिलाई लेखेको पत्रमा उल्लेख छ ।
जगदम्बा स्टिल प्रालिले फलामका डन्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरमा बेवास्ता गरेको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको हो । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया