बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अक्सफोर्डको कोरोनाविरुद्धकाे खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः शुरू हुने

दैनिक नेपाल २०७७ भदौ २८ गते ८:५४

लण्डन, २८ भदाै । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको अन्तिम चरणको मानवीय परीक्षण पुनः शुरु हुने भएको छ ।

खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि तत्कालका लागि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले बताएको बिबिसीले उल्लेख गरेको छ ।

खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि परीक्षण रोकिएको बताइएको थियो ।

तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने बताएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । तत्कालका लागि गरिएको खोप परीक्षणको रोकले मानिसको सुरक्षा पहिलो प्राथमिकतामा रहेको देखाउने उनले बताए ।

खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर रियाक्सन देखिने र बिरामी पर्ने सम्भावना हुने बताउँदै विश्वविद्यालयले अहिलेको पटक पनि त्यहि भएको उल्लेख गरेको छ ।

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ। एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित