
काठमाडौं, २७ भदौ । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एउटा घरका परिवार नै मृत अवस्थामा फेला परे ।
घटनामा सुदीप अधिकारी, श्रीमती सम्झना, छोरा सुशान्त र घरमा पालिएको कुकुरसमेत मृत अवस्थामा फेला परेको थियो । सिंगो परिवार नै सखाप भएको घटनाको वास्तविक कारण खुल्न बाँकी छ । तर, प्रारम्भिक अनुसन्धानबाट सो घटना ‘हत्यापछि आत्महत्या’ भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
घटनासँग सम्बन्धित घटनास्थलबाट प्रहरीले फेला पारेको विभिन्न तथ्यहरुका आधारमा प्रहरी यो प्रारम्भिक निष्कर्षमा पुगेको हो ।
घटनास्थलमा पुगेका प्रहरीका अनुसार श्रीमती सम्झना र छोरा सुशान्तको खुर्पा प्रहार गरी हत्या गरेको देखिएको छ भने सुदीपले विष सेवन गरेर आत्महत्या गरेको पूर्वानुमान छ । तर, घटनासँग सम्बन्धित तथ्यहरुको परीक्षण प्रतिवेदनपश्चात् मात्रै यथार्थ कुरा बाहिर ल्याइने प्रहरीको भनाइ छ ।
छोरा सुशान्तको कोठाबाट चक्कु, सुदीप ढलेका ठाउँबा विषमो बट्टा र खुर्पालगायत वस्तुहरु फेला परेका आधारमा घटना हत्यापछि आत्महत्या भएको प्रहरीको अनुमान छ । त्यतिमात्र होइन आमाछोराको शव गनाएको अवस्थामा फेला परेको तथा सुदीपको शव तुलनात्मक रुपमा कम सडेकाले हत्या र आत्महत्या फरक–फरक समयमा भएको प्रहरीको बुझाई छ ।
आमा–छोरा पल्टिएको ठाउँमा रगत लतपतिएको तथा टाउकोमा चोट लागेको छ भने सुदीपको हातमा विष लागेको देखिन्छ । कुकुरले पानी खाने भाँडामा झिंगा र किरा मरेको भेटिएको छ । कुकुरलाई पनि विष घोलेको पानी खुवाएर मारेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटना श्रीमान्–श्रीमतीको झैझगडाको आधारमा भएको देखिएको प्रहरीको भनाइ छ । भर्खरै मात्र घर बनाएका उनीहरुको नाममा थुप्रै ऋण भएको र ऋण तिर्ने आधार नभएकाले पनि घटना घटाएको हुनसक्ने अनुमान प्रहरीको छ ।
किनभने सुदीप भक्तपुरकै एउटा औषधि कम्पनीमा काम गर्दथे तर, उनी अत्यधिक मदिरा पिउने हुनाले केही समयअघि उनलाई जागिरबाट निकालेको उनलाई चिन्नेहरु बताउँछन् । कामबाट निकालिएपछि बेरोजगार बनेका उनलाई ऋणको चिन्ता परेको हुनसक्ने अनुमान पनि गरिएको छ ।
विभिन्न निुहँमा श्रीमान्–श्रीमतीबीच झगडा भइरहने र पछिल्लो समय बुबा–छोराको समेत झगडा भएको बताइएको छ । सुदीपका छोरा सुशान्त यसै वर्ष एसईई उत्तीर्ण समेत भएका थिए ।















प्रतिक्रिया