काभ्रेपलाञ्चोक, २७ भदौ । काभ्रेमा अपहरण तथा शरीर बन्धक बनाई फिरौती रकम मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो क्षेत्रबाट प्रहरीले तीन जना पक्राउ गरेको जनाएकाे छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ तिनघरे घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी श्रीमती २१ वर्षीया सविना तामाङ र बेथानचोक गाउँपालिका-४ चलालगणेशस्थान घर भई हाल धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलो डेरा गरी बस्ने २१ वर्षीया उमा परियार रहेका छन् ।
पाँचखाल नगरपालिका-१२ देवभूमि घर भएका २३ वर्षीय राजकुमार दनुवारलाई बुधबार दिउँसो धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलोमा ४/५ जनाको अपरिचित समूहले अपहरण गरी बन्धक बनाई ५० हजार रुपियाँ माग गरेको थियाे ।
अपहरण गरेर पैसा मागेकाे भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सोही दिन बेलुका बनेपा नगरपालिका-१० बुडोलबाट राजकुमारलाई सकुशल उद्दार गरेको विज्ञप्तिमा जनाइएकाे छ ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान गर्ने क्रममा आकाश र सविनालाई बिहीबार र उमालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सबिनाले पीडितलाई फोन सम्पर्क गरी भेटघाट गर्न बोलाएको, सबिना र उमाले धुलिखेल नगरपालिका-४ स्थित अठ्ठाईस किलोमा भेट गरी सबिनाले जंगलतर्फ लिई गएको, जंगलको एकान्त स्थानमा पुगी कुराकानी गरी बसीरहेको अवस्थामा आकाश लगायत अन्य व्यक्तिहरूले पूर्व योजना अनुसार राजकुमारलाई नियन्त्रणमा लिई बन्धक बनाई ५० हजार रुपियाँ फिरौती माग गरेको खुल्न आएको छ ।












प्रतिक्रिया