१ कार्तिक २०८३, शनिबार

गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९२.५ प्रतिशत

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ भदौ । रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक प्रगति ९२ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत भएको छ ।

यो तथ्यांकलाइृ आधार मान्ने हो भने निर्माणाधीन सो विमानस्थलको संरचनागत निर्माण करीब सम्पन्न हुने अवस्थामा पुगेको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माणाधीन उक्त विमानस्थल निर्माण गरिरहेको चीनको नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले हालै सार्वजनिक गरेको प्रगति विवरणअनुसार कोरोना भाइरसको महामारीबीच पनि विमानस्थल निर्माणको काम उल्लेख्य भइरहेको छ ।

त्यसो त कोरोना महामारी नेपाल नभित्रिएको भए यतिबेलासम्म यो विमानस्थल व्यवसायिक उडानको दिशातर्फ अगाडि बढिसक्ने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ ।

अधिकांश उपकरण आइसकेको भए पनि अन्तर्राष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन चुनौति भइरहेकाले काममा ढिलाइ भइरहेको बताइएको छ । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको काम भइरहेको छ ।

निर्माणाधीन गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरूआतबाट मात्रै सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

कुल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

विमानस्थलको धावनमार्ग, ट्याक्सी वे एवं पप्रोनको सिभिल निर्माणतर्फको कार्य सम्पन्न भई विद्युत्को काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन, अग्नि निवारण भवन तथा कन्ट्रोल टावर निर्माण सम्पन्न भई उपकरण जडान भइरहेको छ ।

विमानस्थलको भित्री तारबार र नाला बनाउने काम पनि अन्तिम चरणमा छ । आइसिबी जिरोटू अन्तर्गतका उपकरणहरु आयोजना स्थलमा आइसकेको र जडानपूर्व तयार हुनुपर्ने भौतिक संरचना तयार भइरहेको छ ।

बन्दाबन्दीको अवधिमा विमानस्थलको काम निरन्तर भयो । धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने लिङ्क टयाक्सी वे निर्माण सकियो । पेरिमिटर सडक, फेन्सिङ निर्माण, नाला बनाउने, धावनमार्गको वरिपरि खाली स्थानमा माटो भर्ने कार्य भएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एयर कन्डिसन, रङरोगन, अग्नि नियन्त्रण तथा उपकरण नियन्त्रणका लागि संरचना निर्माण गरियो ।

हार्डवेयरजन्य सामग्री सिमेन्ट, डण्डी, मार्वल, टायल्स, आलुमिनियम आपूर्ति भइसकेको छ । बन्दाबन्दीको अवधिमा २९ चिनियाँसहित करिब २७५ जना कामदारले दैनिक कार्य गरेका थिए ।

आयोजनाले बन्दाबन्दी तथा निषेधाज्ञाहरुको अवधिमा करीब ४ दशमलव ५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ ।