१ कार्तिक २०८३, शनिबार

सामाजिक क्षेत्रको कामलाई गौरवको योजनाका रूपमा अघि बढाउन मन्त्री गुरुङको निर्देशन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको योजनाको रूपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषदका कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

समाज सेवा, मानव सेवाजस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि देखिने गरेको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसो हुन नदिन परिषदका कर्मचारीहरूलाई सचेत समेत गराएका छन् ।

बिहीबार परिषदको ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको विदाई समारोहमा उनले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन परिषदले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने सोचलाई अघि बढाएको जानकारी दिए ।

सामाजिक संघ, संस्थाहरूलाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने परिषदका अध्यक्ष समेत रहेका मन्त्री गुरुङको भनाइ छ । परिषदलाई आफ्नो लक्ष्य हासिल हुने गरी काम गर्नसक्ने बनाउन आवश्यक सुझाव दिन पनि परिषदका कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

कार्यक्रममा मन्त्री गुरुङले योग्यता र क्षमताको आधारमा कर्मचारीहरूलाई जिम्मेवारी दिने मापदण्ड तय गरिएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न पनि आग्रह गरेका छन् । परिषदको कामलाई गतिशील बनाउन कर्मचारीहरूको दक्षता अभिवृद्धिका लागि आवश्यक सबै खालको तालिम, प्रशिक्षणलगायत व्यवस्था गर्ने मन्त्री गुरुङले बताएका छन् ।

कार्यक्रममा परिषदका उपाध्यक्षडा. पदमप्रसाद खतिवडाले सामाजिक उद्यमशीलताको माध्यमबाट सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन, परिमार्जन गर्ने कामलाई अघि बढाइएको मन्त्री गुरुङलाई जानकारी गराएका छन् ।

सदस्यसचिव पुस्कर खातीले सुशासन र परिणाममुखी कामको माध्यमबाट परिषदको कामलाई अघि बढाउने योजना तय गरिएको बताए । कार्यक्रममा मन्त्री गुरुङले परिषदको वेबसाइटको पनि शुभारम्भ गरेका छन् ।