ओखलढुंगा, २४ भदाै । ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठसहित ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जिसस प्रमुख श्रेष्ठसहित नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारमा पनि कोरोना संक्रमण देखिएको हो ।
जिसस प्रमुख श्रेष्ठसहित उनको परिवारका ३ जना, १ पत्रकारमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्लाका ८१ वटा स्वाब परीक्षणको लागि प्रयोगशालामा पठाएकोमा १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनका अनुसार ९ जना नयाँ संक्रमित थपिएका हुन् भने ३ जना यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरू हुन् ।
मंगलबार आएको रिपोर्टमा सुनकोसी गाँउपालिकाका सबैभन्दा धेरै ५, खिजिदेम्बा गाँउपालिकाका १, मानेभञ्ज्याङ गाउपालिकाका १ र जिल्लामा सरुवा भएर आएका २ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका यसअघि पुष्टि भएका ५ जना सक्रिय संक्रमितमध्ये २ जनाले कोरोना जितेका छन् । मंगलबार थपिएकासहित गरेर जिल्लामा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ ।
कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दे भीडभाड हुने किसिमका कुनै पनि गतिविधि नगर्न आग्रह गरेको छ ।











प्रतिक्रिया