
काठमाडौं, २३ भदौ । अवैध लागू औषध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
ना ३ ख ९८९ नम्बरको कन्टेनरमार्फत लागू औषध लुकाएर ओसारपसार तथा विक्रीवितरणमा संलग्नलाई महानगरीय अपराध महाशाखा मिनभवनको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बाह्रबीसे नगरपालिका–७ सिन्धुपाल्चोकका ३६ वर्षीय विष्णु प्रधान, सोही नगरपालिका र वडामा ३७ वर्षीय डम्बरबहादुर प्रधान र भोटेकोशी गाउँपालिका–५ सिन्धुपाल्चोककै ३२ वर्षीय शंकर खड्का छन् ।
उनीहरुको साथबाट प्रहरीले डाईजापाम २ हजार ९५० एम्पुल, नाईट्रोभेट ३ हजार एम्पुल, प्रोमेथाजिन २ हजार ९५० एम्पुल, बुप्रिनोर्फिन १ हजार ५०० एम्पुल र नूफिन १ हजार ४०० एम्पुल बरामद गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मंगलबार बिहान भक्तपुर नगरपालिका–१ स्थित सल्लाघारी एसियाबाट प्रधानद्वयलाई पक्राउ गरिएको थियो । उनीहरुको वयानका आधारमा उनीहरुसँग लागू औषध कारोबारमा संलग्न रहेका शंकर खड्कालाई काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ गरिएको हो ।
उनीहरुले कन्टेनरमा चालकको सिटमुनी लुकाएर उक्त परिमाणको लागू औषध ओसारपसार तथा विक्रीवितरण गरेको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया