
काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकाको जारी निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी भइरहेको छ ।
यसबारेमा छलफल गर्न उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु अहिले छलफलमा जुटेका छन् ।
३ जना अधिकारीहरुको छलफलबाट निकालिएको निष्कर्षका आधारमा निषेधाज्ञा थप गर्ने, खुला गर्ने वा थप खुकुलो बनाउने प्रस्ताव गृह मन्त्रालयमा लैजाँदै छन् । सोही प्रस्तावका आधारमा गृहले आवश्यक कदम चाल्न सीडीओहरुलाई निर्देशन दिने बताइएको छ ।
भदौ ४ गतेदेखि निषेधाज्ञा घोषणा गरिँदै आए पनि कोरोना संक्रमणको दरलाई अपेक्षाकृत नियन्त्रणमा ल्याउन सकिएको छैन । यो अवस्थामा अहिले नै निषेधाज्ञा हटाउने पक्षमा सीडीओहरु छैनन् । त्यसको विकल्पमा निषेधाज्ञाको मोडालिटी परिवर्तन गरी जनजीवन सहज बनाउनेतर्फ पनि उनीहरुले छलफल गरिरहेका छन् ।
तर, अहिलेकै अवस्थामा निषेधाज्ञालाई निरन्तरता दिँदा पनि जनआक्रोश थाम्न नसकिने निष्कर्षमा पनि उनीहरु पुगेकान छन् । कोरोना संक्रमण बढेपछि तीनवटै जिल्लाले भदौ ४ गतेदेखि निषेधाज्ञा लगाएका छन् । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।
गृह मन्त्रालयले समेत निषेधाज्ञा थप खुकुलो बनाउनेगरी प्रस्ताव तयार पार्न सुझाव दिएको बताइएको छ ।















प्रतिक्रिया