२ कार्तिक २०८३, सोमबार

काेराेना नेपालमा तीव्र, विदेशमा मत्थर

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदाै । असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेका थियाैँ। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए।

सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने, ‘लगभग नियन्त्रणमा आएको छ।’

उनले विदेशमा नेपाली पहिलाको तुलनामा धेरै सुरक्षित रहेको सुनाए। ‘हाम्रो समुदायमा मात्र कम भएको हो’, उनले भने, ‘हामी बढी सजग भएर स्वास्थ्य मापदण्ड पालना गरेका कारण संक्रमण कम देखिएको हो।’

संघका अनुसार हालसम्म ४० देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। विदेशमा ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ। यीमध्ये ३२ हजार ९ सय ८९ जना संक्रमणमुक्त भइसकेको संघले जनाएको छ। यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो।

कतारमा २३ हजार ८ सय ६४, संयुक्त अरब इमिरेट्स (यूएई) मा २ हजार ४ सय, साउदी अरबमा १ हजार ९ सय ७५, अमेरिकामा १ हजार ७ सय २७, कुवेतमा १ हजार ६ सय ३५, बेलायतमा १ हजार ५ सय १७ जना संक्रमित भएका छन्। भारतमा ५ सय ८०, बहराइनमा ४ सय ५१, अस्ट्रेलियामा १ सय ८१ जना संक्रमित छन्। मलेसिया, पोर्चुगल, आयरल्यान्ड, स्पेन, क्यानडा, अस्टे«लिया, जापान, माल्दिभ्स, बेल्जियम, स्विट्जरल्यान्ड जर्मनी, फिनल्यान्ड, साइप्रस, न्युजिल्यान्ड, माल्टा, हङकङ, पोल्यान्ड, म्यानमार र फ्रान्समा पनि नेपाली संक्रमित छन्।

खाडी मुुलुकमा रहेका नेपाली कोरोना महामारीका कारण आक्रान्त बन्दै गएका छन्। भारतसहित यूएई, साउदी र कतारमा रहेका नेपाली अझै जोखिममा देखिएका छन्। वैदेशिक रोजगारीका क्रममा मलेसिया र खाडी मुलुकमा १८ लाख नेपाली कामदार कार्यरत रहेको जनाइएको छ। भारतबाट ३ लाखभन्दा बढी नेपाली फर्किए पनि अझै ठूलो संख्यामा उतै बसेका छन्। कतिपय नेपाली रोजगारी गर्न भारत नै जान थालेका छन्।

संघका अनुसार यूएईमा संक्रमित र मृतकको संख्या बढ्दो छ। दक्षिण कोरियामा रहेका नेपालीमा पहिलो पटक यो साता कोरोना संक्रमण देखिएको छ। जापान, अस्ट्रेलिया, कतारलगायत देशमा यो साता कोरोना संक्रमणदर बढेको संघले जनाएको छ। मध्यपूर्वमा कोरोना महामारीका रूपमा फैलिएको छ। युरोप र अफ्रिकामा भने कोरोनाको असर कम हुँदै गएको छ। तुलसी सुवेदीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।