
काठमाडौं, २१ भदौ । रुकुममा एक महिला आफ्नो श्रीमानको हत्या गरेकी छिन् ।
जिल्लाको बफीकोट गाउँपालिका–१० की २६ वर्षीया अन्जना पुन बुढाले आफ्नै श्रीमान्को हत्या गरेकी हुन् । बुढाले गत भदौ १० गते राती घरमै ३६ वर्षीय श्रीमान् भीमबहादुर बुढालाई लाठीले कुटपीट गरेर हत्या गरी शवलाई डोकोमा बोकेर भीरबाट फालेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
आफ्नो श्रीमान् बेपत्ता भएको भन्दै केही दिनअघि उनी आफैले गाउँभर हल्लाखल्ला गरेकी थिइन् । उनले गुहार मागेपछि गाउँलेले भीमबहादुरको खोजी गर्ने क्रममा घरदेखि करीब ३०० मिटर पर रहेको भीरको फेदमा सडेगलेको अवस्थामा भीमबहादुरको शव फेला परेको बताइएको छ ।
मृतकका श्रीमतीप्रति शुरुमा शंका नगरेको प्रहरीले पछि घर खानतलासी गर्दा घरमा लिपपोत र श्रीमान सुत्ने गरेको खाट अन्यत्रै सारेको पाइएपछि अनुसन्धानको दायरामा उनकी श्रीमती परिन् र प्रहरीले उनलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ ।
आफूले नै हत्या गरेको उनले प्रहरीसँग स्वीकार गरिसकेकी छिन् ।
प्रहरीका अनुसार घटना भएको राती मृतक मदिराले मातेर आएको र आफ्नो चरित्रमाथि प्रश्न उठाएपछि आवेशमा आउँदा घटना भएको अभियुक्तले वयान दिएकी छिन् ।
स्मरणीय छ, केही साताअघि काठमाडौंको गोंगबुमा पनि यस्तै प्रकृतिको घटना भएको थियो । सो घटनामा प्रेमिकाले प्रेमीको वीभत्स हत्या गरी सुटकेशमा शव हालेर फालेकी थिइन् ।















प्रतिक्रिया