
काठमाडौँ, १६ भदौ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४० हजार ५ सय २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मात्रै थप १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
नेपालमा पछिल्लो एक महिनामा थप २० हजार ७ सय ५८ जनामा संक्रमण देखिएको छ ।
जसमध्ये ६६ प्रतिशत भन्दा बढी संक्रमित १२ वटा जिल्लाका रहेका छन् ।
पछिल्लो समय कोरोनाका हटस्पट बनेका १२ वटा जिल्लामा काठमाडौँ, ललितपुर, चितवन, रुपन्देही, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मोरङ र सुनसरी रहेका छन् ।
यी १२ वटै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ जिल्ला काठमाडौँ, पर्सा, सर्लाही र रौतहटमा सक्रिय संक्रमितको संख्या एक हजार भन्दा बढी रहेको छ ।
जनस्वास्थ्य विज्ञहरुका अनुसाुर कोरोना संक्रमणको हटस्पट बनेका यी १२ जिल्लामा समुदायस्तरमा संक्रमण फैलिएको छ ।
विज्ञहरुले एक महिना अघि महिलामा संक्रमण दर ८ प्रतिशत रहेकोमा अहिले बढेर ३९ प्रतिशत पुगेको बताएका छन् ।
त्यस्तै, पहिले भारत तथा अन्य मुलुकबाट आएकाहरुमा संक्रमण धेरै देखिएको थियो भने हाल ९६ प्रतिशतसम्म ट्राभल हिस्ट्री नभएका मानिसहरुमा संक्रमण देखिएको उनीहरुको भनाइ छ ।
यद्यपि स्वास्थ्य मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरेको छैन ।















प्रतिक्रिया