काठमाडौं, १६ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्नु दुई दिन अगाडि उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभाको सांसद बन्न इच्छा देखाएपछि तरंग उत्पन्न भएको छ ।
गौतमले राष्ट्रिय सभाको मनोनीत सांसद बन्न प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीसँग भेट गरेर इच्छा जनाइसकेका छन् । ओलीले गौतमको इच्छाका विषयमा स्पष्ट केही भनेका छैनन् ।
नेकपाका नेता देवेन्द्र पौडेलले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने विषयमा पार्टीभित्र कुनै पनि निर्णय नभएको बताए । ‘बामदेव गौतम जस्तो सक्षम व्यक्तिलाई राष्ट्रिय सभाको सांसदमा मनोनीत गर्नु उचित हो’, उनले एउटा रेडियोसँगको अन्तार्वार्तामा उनले भने, ‘गौतमज्यूलाई सांसद बनाउनेबारे पार्टीमा निर्णय भएको छैन ।’
प्रधानमन्त्री ओली वा गौतमले मात्रै चाहेरभन्दा पनि पार्टीको संस्थागत निर्णयबाट निर्णय हुने उनले बताए ।
नेकपाको केन्द्रीय सचिवालयको बैठक भदौ १८ गते बस्ने तयारी भएको छ । बैठकको तयारी भइरहेका बेला गौतमले सांसद बन्ने रहर गरेपछि नेकपाभित्र खैलाबैला भएको छ ।
नेकपाको सचिवालयले गौतमलाई सांसद बनाउन तयार हुन्छ वा हुँदैन हेर्न बाँकी छ ।















प्रतिक्रिया