
काठमाडौं, १४ भदौ । सञ्चारकर्म भन्दा बाहिर रहेका विभिन्न व्यक्तिले आफ्नो सवारीसाधनमा प्रेस लेख्ने तथा पत्रकारको परिचय दिई प्रेसको दुरुपयोग गरेको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाका क्रममा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा कतिपयले सञ्चारकर्मीको परिचय दिई सवारीसाधनमा प्रेस लेखेर दुरुपयोग गरेको भन्दै महासंघले गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘जनतालाई सूसुचित गराउने प्रयोजनका लागि दिइएको सुविधालाई कसैले पनि दुरुपयोग गर्नु गम्भीर आपत्तिको विषय हो । यस्ता दुरुपयोगले पत्रकारिता पेशाको प्रतिष्ठा र मर्यादामा आँच पुग्ने महासंघको ठहर छ’, महासंघका महासचिव रमेश विष्टले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा लेदिएको छ, ‘महासंघ पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारीसाधनमा प्रेस लेखेर हिँडडुल नगर्न आग्रह गर्दछ ।’
साथै, आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पनि पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन पनि महासंघले आग्रह गरेको छ ।
‘प्रेस पासको दुरुपयोग रोक्न महासंघ नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई हार्दिक आग्रह गर्दछ । प्रेस उल्लेखित सवारीसाधनमा सवार सबै यात्रुको प्रेस पास चेकजाँच गर्न, प्रेस पास आधिकारिक भए–नभएको निश्चित गर्न र सम्बन्धित व्यक्ति पत्रकारिताको पेशागत जिम्मेवारीमा हिँडेको वा नहिँडेको निश्चित गर्न महासंघ महानगरीय ट्राफिक प्रहरी कार्यालयसहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्दछ । कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानूनी कारवाही गर्न महासंघ सम्बन्धित निकाय समक्ष हार्दिक आग्रह गर्दछ’, विज्ञप्तिमा लेखिएको छ ।















प्रतिक्रिया