१ कार्तिक २०८३, शनिबार

भदौ २० गतेपछि के हुन्छ अर्थमन्त्री डा.युवराज खतिवडाको पद ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । आगामी २१ गतेपछि अर्थमन्त्री युवराज खतिवडाको समयावधि समाप्त हुँदैछ ।

त्यसपछि को अर्थमन्त्री बन्छ भन्ने विषयले यतिखेर विभिन्न कोणबाट चर्चाहरु शुरु भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका निम्ति सरकार पुनर्गठनको सवाल उठ्नु, स्वयं खतिवडाकाको समयावधि समाप्त हुनु, अर्थमन्त्रीको कार्यशैलीमाथि पटक–पटक प्रश्न उठिरहनुलगायत कारणले पनि यो विषय अहिले पेचिलो बन्न थालेको छ ।

साथै खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने वा अरु नेतालाई अर्थ मन्त्रालय दिएर पार्टीभित्रको विवाद समाधानमा टेवा दिने भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली समेत यतिबेला दोधारमा रहेको बताइन्छ ।

गत पुसमा राष्ट्रिय सभाका सदस्यमा डा. खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले पनि महत्व पाइरहेको छ । गत फागुन २१ गते प्रधानमन्त्री ओलीले संविधान अनुसार ६ महीनाका लागि मन्त्री बन्न पाउने प्रावधानका आधारमा उनलाई पुनः अर्थमन्त्रीमा निरन्तरता दिएका थिए ।

तर, खतिवडालाई नै निरन्तरता दिने आधार र सम्भावना भने अझै बलियो नै छ । किनभने राष्ट्रिय सभाका लागि राष्ट्रपतिबाट मनोनित गर्न बाँकी एक सिट अझै खाली छ, सो सिटमा उनलाई मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिने बाटो खुल्लै छ । तर, यो विषय केवल पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको विचारमा भर पर्ने पार्टीकै नेताहरु बताउँछन् ।

यसअघि डा. खतिवडा राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेर अर्थमन्त्री समेत बनेका हुन् । तर, राष्ट्रपतिबाट मनोनित ३ जना राष्ट्रियसभा सदस्यमध्ये खतिवडाको कार्यकाल गत फागुनमा सकिएको थियो ।

त्यसपछि संविधानको व्यवस्थाका आधारमा ६ महीनाका लागि पुनः मन्त्री नियुक्त भएका खतिवडाको समयावधि यही भदौ २० गते सकिने भएको हो ।