
काठमाडौं, १२ भदौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक साताभित्र देशका सबै स्थानीय तहमा अस्पताल सञ्चालनमा ल्याउने बताएको छ ।
शुक्रबार बसेको मन्त्रीस्तरीय बैठकले देशभरका सबै स्थानीय तहमा एक साताभित्र अनिवार्य रुपमा अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । हाल देशका ६४९ वटा स्थानीय तहमा अस्पताल छैन । तर, मन्त्रालयले कम्तीमा १ जना चिकित्सकसहित ५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अस्पताल सञ्चालनमा पालिकाले कुनै बहाना बनाउन पाउने छैन । अस्पताल, पूर्वाधार र जनशक्ति नै नभएको पालिकामा स्वास्थ्यका अन्य पूर्वाधार भएको भन्दै उनले स्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गरिने बताएका छन् । आवश्यक जनशक्ति र स्रोतसाधन मन्त्रालयले व्यवस्थापन गर्ने उनको भनाइ छ ।
यसैबीच मन्त्रालयले करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ । वार्षिक करीब ३०० जनाले चिकित्सक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेको भन्दै डा. गौतमले भने, ‘अस्पताल सञ्चालन गर्न जनशक्तिको रुपमा ६४९ चिकित्सक र एक हजार २९८ नर्स चाहिएको छ, पूरा हुन्छ ।’
उनका अनुसार मन्त्रीस्तरीय बैठकले शुक्रबार संघ, प्रदेश र स्थानीय तहका अस्पतालहरुमा ६ हजार २०१ वटा शय्या थप्ने निर्णय गरेको हो ।
योसँगै सरकारको यो कदम दक्षिण एसियाकै स्वास्थ्य क्षेत्रका लागि यो ऐतिहासिक भएको दाबी गरेका छन् । उनका अनुसार दक्षिण एशियामा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान लगायत देशहरुका प्रत्येक स्थानीय तहमा अस्पतालको सुविधा छैन ।















प्रतिक्रिया