२ कार्तिक २०८३, सोमबार

राजकुमार मृत्यु घटना : महिना बित्यो, कारबाही भएन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १३ भदाै । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकको कुटपिटबाट २१ वर्षीय छोराको मृत्यु भएको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै राप्ती नगरपालिका–२ मिलन टोल पिप्लेका विष्णुलाल चेपाङले चितवन प्रहरीमा उजुरी दिएको महिना दिन नाघेको छ । तर अहिलेसम्म उक्त घटनामा संलग्न कोही पक्राउ परेका छैनन् ।

मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने प्रतिबद्धता भए पनि उनीहरूले किरिया खर्चबापतको एक लाख रुपैयाँबाहेक अरू पाएका छैनन् । ‘पोस्टमार्टम रिपोर्ट भर्खर आएको छ । त्यसको पूरकका रूपमा अरू परीक्षण प्रतिवेदन आएको छैन । रगत र भिसेरा परीक्षण प्रतिवेदन आएपछि एउटा निचोडमा पुग्ने तयारीमा छौं,’ चितवन प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले भने । विष्णुलालले जिल्ला प्रहरी कार्यालयमा साउन ९ मा उजुरी दर्ता गराएका थिए । मृतक राजकुमारको पोस्टमार्टम काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा साउन १२ मा भएको थियो । भिसेरा परीक्षण प्रतिवेदन आएसँगै थप कारबाही प्रक्रिया अगाडि बढ्ने एसपी गुरुङले बताए ।

राजकुमारसहित मिलन टोलका पाँच युवा र दुई महिला साउन १ मा राप्ती नदी पार गरेर जंगलमा अमिलो खोज्ने, खोलामा माछा मार्ने र घोंगी टिप्ने योजना बनाएर निकुञ्जभित्र छिरेका थिए । ज्युडी खोलामा घोंगी टिप्दै गर्दा सेनाले उनीहरूलाई पक्राउ गरेको थियो । सो क्रममा पाँचै जना युवकमाथि कुटपिट भएको थियो । त्यसको साता दिनपछि साउन ८ मा राजकुमारको मृत्यु भएको थियो । कुटपिटमा संलग्नलाई कारबाही प्रक्रिया सुरु नगरेको र राहतको विषयमा चित्तबुझ्दो प्रतिबद्धता नआएको भनेर परिवारले शव बुझ्न इन्कार गर्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा १० लाख रुपैयाँ राहत दिने र कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता आएसँगै परिवारले शव बुझेर साउन १८ मा सद्गत गरेको थियो । ‘राहत दिने भनेका छन् । त्यसका लागि बैंकमा खाता खोल्नुपर्दो रहेछ । छोरोको किरिया सकेपछि म खाता खोल्न कागजपत्र मिलाउनतिर लागें । उजुरीको बारेमा के भएको छ बुझ्न पाएको छैन,’ विष्णुलालले भने ।

मृतक राजकुमारकी श्रीमती रिपुमायाकै नागरिकता बनेको रहेनछ । नागरिकता नबनेपछि बिहे दर्ता गर्ने कुरै भएन । डेढ वर्षीया छोरी एलिनाको जन्म दर्ता पनि भएको थिएन । ‘छोराको मृत्यु दर्ता, बुहारीको नागरिकता बनाएर बिहे दर्ता र नातिनीको जन्म दर्ता गरेर बैंकमा बल्ल खाता खोलेको छु । राहत खातामा हाल्दिने भनेका छन्,’ विष्णुलालले भने, ‘यो काम सकेपछि उजुरी के भयो त्यो पनि हेर्नु छ । न्याय त पाउनै पर्छ ।’ रमेशकुमार पौडेलले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।