३० आश्विन २०८३, शुक्रबार

अनेरास्ववियूले शिक्षामन्त्रीलाई बुझायो २१ बुँदे ज्ञापनपत्र

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई २१ बुँदे मागसहितको ज्ञापनपत्र वुझाएको छ ।

ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्बन्धित ११ वटा र विश्वविद्यालय शिक्षासँग सम्बन्धित १० वटा माग प्रस्तुत गरिएको छ । कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षामन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण गरिसकेको अनेरास्ववियूले बताएको छ ।

ज्ञापनपत्रमा अनेरास्ववियूले शैक्षिकसत्र कुनै हरहालतमा खेर जान नदिन, वैकल्पिक माध्यमबाट परीक्षा लिन र सिकाई सहजीकरण निर्देशिका ०७७ को समीक्षा र अनुगमन गरी त्यसलाई शैक्षिक सत्रकै अंग बनाउन माग गरेको छ । त्यसैगरी कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको ग्रेडिङ मापदण्डलाई स्थगित गरी गत वर्षको मापदण्ड अनुसार नै भर्ना गर्ने अनेरास्ववियूले माग गरेको छ ।

अनेरास्ववियूले विद्यालय तहका विद्यार्थीको भर्ना अभिलेख राख्न र कक्षान्नोत्ति गर्न तथा होम सेन्टरको ब्यवस्था गरी कक्षा १२ को परीक्षा चाँडोभन्दा चाँडो गर्न पनि माग गरेको छ ।

विश्वविद्यालयतर्फ अनलाइन तथा वैकल्पिक कक्षा र परीक्षा प्रणालीको तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्न माग गरिएको छ । सेमेस्टर प्रणालीमा चलेका कक्षाहरुको हकमा स्वतः सेमेस्टर अपग्रेड गर्ने र सहज भएको समयमा क्रमसः बाँकी रहेका सबै समेस्टरहरुको परीक्षा गराउन अनेरास्ववियूले माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ–

माननीय मन्त्री ज्यू ! शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार, काठमाण्डाैं ।
विषय: ज्ञापनपत्र
विश्वभरि फैलिरहेकाे काेराेना भाइरसकाे महामारीका कारणले आज मुलुककाे समग्र क्षेत्र दिनप्रतिदिन तहस-नहस भइरहेकाे छ । भविश्यका कर्णधार उत्पादन गर्ने शिक्षा क्षेत्र झनै प्रभावित भइरहेकाे छ । चालू शैक्षिक सत्रकाे आधा समयावधि वितिसक्दा सम्म पनि काेराेना भाइरस संक्रमण नियन्त्रण हुने कुनै संकेत देखिएकाे छैन । जसकाे परिणाम स्वरुप र विद्यालय र विश्वविद्यालयमा अध्ययन गर्ने लाखाैं विद्यार्थीहरुकाे भविष्य अन्याैल भइरहेकाे छ । महामारीका कारण शैक्षिक सत्र खेर जान नदिन सरकारले अहले देखि नै बिकल्पहरुबारे तयारी गर्नु जरुरी छ । अतः काेराेना महामारीका कारणले शैक्षिक क्षेत्रमा देखिएकाे अन्याैलतालाइ सापेक्षित रुपमा भए पनि सम्बाेधन गर्न नेपाल सरकार, शिक्षा मन्त्रालय र सम्बन्धित निकायहरुले तत्काल निम्न विषयहरुमा ध्यानाकर्षण गराउन याे ज्ञापन पत्र पेश गरेका छाैं ।
विद्यालय शिक्षा
१)  विद्यालय तहमा यस वर्षको शैक्षिक सत्र हरहालतमा कायम हुनेगरी विशेष निर्णय मार्फत बैकल्पिक सिकाइ प्रणाली र परीक्षा प्रणाली अबलम्बन गर्ने ।
२) स्थानीय तहको निगारानीमा अनलाइन माध्यम वा भौतिक दुरी कायम गरी सुरक्षित ढंगले विद्यार्थी भर्ना तथा कक्षा उन्नत्तिको ब्यवस्थित अभिलेखिकरण गर्ने ।
३)  स्रोत साधनको पहुँचका आधारमा स्थानीय तह र सम्वन्धित विद्यालयले सवै प्रविधिको पहुंच नभएका ,रेडियो/एफ.एम.मा पहुँच भएका, टेलिभिजनमा पहुच भएका, कम्प्युटर /मोबाइल भएका तर अनलाइन पहूंच नभएका र इन्टरनेटमा पहुँच भएका विद्यार्थीको पहिचान र वर्गीकरण गरि तद्अनुरुपकै सापेक्षतामा वैकल्पिक सिकाई प्रणालीलाई प्रभावकारीताका साथ ब्यवस्थित गर्ने।
४)  शिक्षा मन्त्रालयले असार १ गतेवाट लागू गरेको वैकल्पिक प्रणालीवाट विद्यार्थीको सिकाई सहजिकरण निर्देशिका ०७७ को ब्यवस्थित तथा वैज्ञानिक समीक्षा र अनुगमन गरि त्यसलाई औपचारिक शैक्षिकसत्रको अंग वनाउने गरि तयारी अघि वढाउने ।
५)  नयाँ सन्दर्भमा विद्यालय तहकाे पाठ्यक्रम र पाठ्यभारलाई परिमार्जन गरि दशैंतिहार लगत्तै पठनपाठनकाे शुरुवात गर्ने । काेराेना महामारी नियन्त्रण भयाे भने विद्यालय सुचारु गर्ने र सहज नभए अनलाइन तथा विविध बैकल्पिक सिकाइ प्रक्रियालाई अघि वढाउने ।
६ ) कक्षा १२ काे परीक्षाकाे लागि हाेम सेन्टरकाे व्यवस्था गरी असाेज महिनामा गर्ने गरी तयार गर्ने । काेराेना सहज भएमा हाेमसेन्टरकाे व्यवस्था गरी जतिसक्दाे छिटाे परीक्षा सञ्चालन गर्ने । सहज नभएकाे सन्दर्भमा बैकल्पिक माध्यमबाट परीक्षा लिने । त्यसका लागि कक्षा ११ आधारमा ५० प्रतिशत मुल्याङ्न गर्ने र वांकी ५० प्रतिशत अनलाईन भाइवर तथा Open book Exam आदि प्रणाली अबलम्बन गर्ने ।
७) अझैपनि पाठ्यपुस्तक नपुगेका विद्यार्थीहरु भएका ठाउँमा अविलम्ब पुर्याउन विशेष व्यवस्था गर्ने ।
८) शैक्षिक वातावरण बनाउन आइसाेलेशन र काेरिन्टिनहरु रहेका विद्यालयहरुमा डिइन्फेक्शन गर्ने तथा काेरेन्टिनहरुकाे बैकल्पिक व्यवस्था गर्ने ।
९) संस्थागत विद्यालयहरुकाे हकमा अनलाईन कक्षाहरुकाे शुल्क निर्धारण गरि कार्यन्वयन र अनुगमन गर्ने । तर विद्यार्थीले नलिएका सुविधा र शिर्षकमा अनावश्यक शुल्क लिन नपाइने ।
१०) अनलाइन शिक्षा लगायतका विशेष शिक्षाकाे लागि विशेष याेग्यता भएका विशेष जनशक्तिलाई करारमा भर्ति गर्ने र स्वयंसेवक शिक्षकको भर्तिकाे व्यवस्था गर्ने ।
११) कक्षा ११ मा भर्ना हुनुका लागि यस वर्ष तय गरिएको SEE ग्रेडिङ मापदण्डलाई स्थगित गरी गतवर्षकाे मापदण्ड अनुसार नै भर्ना गर्ने व्यवस्था गर्ने ।
विश्वविद्यालय तह
१२. त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरुमा यस वर्षको शैक्षिक सत्र कायम हुनेगरी बैकल्पिक पढाइ र परीक्षा प्रणालीकाे तयारी शुरु गर्ने ।
१३. अनलाइन तथा बैकल्पिक कक्षा र परीक्षा प्रणालीकाे तयारी र सञ्चालन गर्ने अधिकार सम्बन्धित विभाग तथा डिन कार्यालयलाइ प्रदान गर्ने । संकायकाे सापेक्षतामा पढाइ र परीक्षाकाे विशेष व्यवस्था गर्ने ।
१४. पठनपाठनकाे हकमा स्वत: सेमेस्टर अपग्रेड गर्ने र सहज भएकाे समयमा क्रमसः बांकी रहेका सबै समेस्टरहरुकाे परीक्षा गराउने ।
१५. अन्तिम परीक्षाकाे हकमा पनि विशेष र बैकल्पिक प्रणाली लागू गर्ने ।
१६. रिक्त रहेका विश्वविद्यालयहरुमा यथासिघ्र पदाधिकारी नियुक्ति गर्ने ।
१७. सरकारले विद्यार्थीलाई लक्षित गरेर सबै शिक्षण संस्थाहरुमा वाइफाइ तथा विद्यार्थीहरुलाइ सुपथ रुपमा एनटिसि तथा एनसेल डाटा प्याककाे व्यवस्था गर्ने ।
१८. सम्पुर्ण विश्वविद्यालयहरुले मातहत कलेजलाई अाफ्ना सम्पुर्ण विद्यार्थीलाई सम्पर्कमा ल्याई वैकल्पिक सिकाईका माध्यमबाट पठनपाठन कार्यलाई नियमित गर्ने।
१९. सम्पर्ण शिक्षण संस्थाहरुमा काेराेना भाइरस संक्रमणबाट बच्ने उपायाहरुकाे पूर्व तयारी गर्ने ।
२०. नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिल, फार्मेसी काउन्सिल लगायत सम्पूर्ण व्यवसायिक परिषदबाट लिइने लाइसेन्स परीक्षाहरु बैकल्पिक प्रणालीद्वारा सञ्चालनकाे व्यवस्था गर्ने ।
२१. MD/MS/MDS लगायत स्वास्थ्यका स्नातकोत्तर तहका रोकिएर सम्पुर्ण प्रवेश परीक्षाहरुकाे बैकल्पिक व्यवस्थाद्वारा सञ्चालन गर्ने ।
बाेधार्थ १. सम्माननीय प्रधानमन्त्री ज्यू मन्त्री परिषदकाे कार्यालय, सिंहदरबार काठमाण्डाैं
रञ्जित तामाङ सहसंयाेजक अनेरास्ववियू
मिति : २०७७ भाद्र