
काठमाडौं, १२ भदौ । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई उपत्यकाका मेयरहरुले दिएको प्रभावकारी सुझावलाई लत्याउँदा कोरोना संक्रमणले भयावह रुप लिएको बताएका छन् ।
नेपालमा कोरोना संक्रमणको शुरुवाती अवस्थामै उपत्यकाका मेयरहरुले गृहमन्त्री थापासँग भेट गरेर प्रभावकारी सावित हुने सुझावहरु दिएको भए पनि उनले त्यो कुरा नपत्याएको उनको भनाइ । आफूहरुले दिएको सुझाव र गर्नै पर्ने काम नगर्नाले अहिले सामाजिक स्तरसम्म कोरोना फैलिएको उनको भदाी छ ।
उपत्यकामा संक्रमण नदेखिँदै उनीहरुले गृहमन्त्रीलाई भेटेर उपत्यका बाहिरका कोही पनि भित्र आउन नदिन, उपत्यकालाई लकडान गर्न पर्ने अवस्था नरहेको, निषेधाज्ञा, कर्फ्यू वा लकडाउन नभनी मानिसहरुलाई स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गराएर पनि काम गर्न सकिने सुझाव दिएका थिए । ‘तर, हाम्रो कुरा गृहमन्त्रीज्यूले वास्तै गर्नु भएन’, मेयर प्रजापतिले भने ।
त्यसो गरिएको भए काठमाडौंमा बजार बन्दलगायत उपाय ल्याउनै नपर्ने उनको भनाइ छ । यस्तै उनले कोरोना नियन्त्रणका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय नभएकोमा पनि गुनासो गरेका छन् । केन्द्र प्रदेश र स्थानीय सरकार अहिले अलग–अलग रुपमा प्रस्तुत हुन हाम्रो लागि घातक सिद्ध हुने उनको दाबी छ ।
विपद व्यवस्थापनको एकल अधिकार स्थानीय तहलाई भए पनि यो महामारी कोही एक्लैले फेस गर्छु भन्ने अवस्था नरहेकाले तीनै तहका सरकारहरु आपसी समन्वयमा मात्रै अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
बरु कार्य विभाजन गरेर कुन तहको सरकारले के चिजको व्यवस्थापन गर्ने जिम्मेवारी बाँडफाँट गरेर चाहिँ काम गर्नुपर्ने उनी बताउँछन् ।
‘क्वारेन्टिन, आइसोलेसन, होल्डिङ सेन्टर, भेन्टिलेटरलगायत बेडको व्यवस्थापन गर्न तीनै तहका सरकारले जिम्मेवारी बाँडफाँट गर्नुपर्ने थियो’, उनले भने, ‘भेन्टिलेटर स्थापना गर्नै नसक्ने स्थानीय तहलाइ पनि भेन्टिलेटर तयार गर भनेर निर्देश दिएर मात्रै कार्य सम्पादन हुँदैन ।’















प्रतिक्रिया