३० आश्विन २०८३, शुक्रबार

सीमामा नागरिक आफै रोकिने वातावरण बनाउन बीओपी प्रमुखलाई एपीएफको निर्देशन

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, ११ भदौ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमामा थप कडाई गर्ने भएको छ ।

तर, कडाईका नाममा नागरिकमाथि बल प्रयोग गर्न भने एपीएफले रोक्ने भएको छ । प्रदेश २ का विभिन्न जिल्लामा सीमा सुरक्षाका लागि स्थापना गरिएको बीओपी र तिनका प्रमुखहरूलाई निर्देशन दिँदै सशस्त्र प्रहरी बल, सीमा सुरक्षा विभागका एआईजी रामशरण पौडेल र बाहिनीपति डीआईजी कृष्णभक्त ब्रम्हचार्यले यस्तो निर्देशन दिएका हुन् ।

तराईका जिल्लाहरूमा कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिरहेका बेला सशस्त्र प्रहरी बलका सीमा हेर्ने सम्पूर्ण बीओपीका नयाँ कमान्डरहरूलाई उनीहरूले यस्तो निर्देशन दिएका हुन् । यसै साता बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा आयोजित एक कार्यक्रममा कोभिड–१९ रोकथाम एवं सुरक्षा परिचालनमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धमा भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिइएको छिन्नमस्ता बाहिनीले बताएको छ ।

सो अवसरमा एआईजी पौडेलले कोरोना महामारीका कारण राष्ट्र नै अक्रान्त भइरहेका बेला लामो समयदेखि लकडाउन र निषेधाज्ञाको चपेटामा परिरहेका जनताहरूसँग संयमित भएर व्यवहार गर्न निर्देशन दिएका हुन् । यस्तै सीमामा हुने आवतजावतमा कडाई गर्न छिन्नमस्ता बाहिनीमा उपस्थित कमाण्डरहरूलाई उनले आवश्यक निर्देशन पनि दिएका छन् । ‘खुल्ला सीमामा आम नागरिकको आवतजावतलाई बलपूर्वक रोक्नु समस्याको समाधान होइन’, एआईजी पौडेलले भने, ‘नागरिकमा कोरोना संक्रमणको असर र सम्भावित क्षतिका बारेमा चेतना जगाई स्वतःस्फूर्त रूपमा आफै रोकिने व्यवस्था मिलाउनुस् ।’

कार्यक्रममा छिन्नमस्ता बाहिनीका डीआईजी कृष्णभक्त ब्रह्मचार्यले सीमामा खटिने नयाँ कमान्डरहरूलाई चुनौतीपूर्ण समयमा कुनै पनि प्रकारको विवाद नआउने गरी कार्यसम्पादन गर्न निर्देशन दिए । यस्तै सीमापार अपराध, लागूऔषध तथा हातहतियारको अवैध ओसारपसार र राजस्व छली हुने तस्करीजन्य क्रियाकलापलाई नियन्त्रण गर्न अहोरात्र खटिन पनि उनले निर्देशन दिएका छन् ।

‘दशकौंदेखि सीमामा निर्वाध आवतजावत गरिरहेका दुबै देशका नागरिकलाई हामीले ६ महीनादेखि रोकिरहेका कारण उहाँहरू हामीसँग रिसाउनु भएको हुन सक्छ’, उनले भने, ‘उहाँहरूको रिसलाई मुस्कानले जित्नुस्, भद्र अवरोधसँगै महामारी र संक्रमणको सम्भाव्यता बोध गराउनुहोस् ।’

कोरोनाको जोखिम उच्च

केही महीना अघिसम्म फाट्टफुट्ट देखिने संक्रमितहरू प्रदेश सरकारले परीक्षणको दायरालाई फराकिलो बनाएसँगै संख्या तीव्र रूपमा बढ्न थालेको छ । जनस्तरमा कोरोना सचेतना बढाउँदै केन्द्र, प्रदेश तथा स्थानीय सरकारद्वारा जारी गरिएका निषेधाज्ञा पालना गराउने र सीमामा हुने निर्वाध आवागमनलाई नियन्त्रण तथा रोकथाममा खटिरहेका सुरक्षाकर्मीहरूमा पनि कोरोना संक्रमणको जोखिम तीव्र बन्दै गएको छ ।

प्रदेश २ मा हालसम्म पीसीआर परीक्षण गरिएका १ हजार २९३ जना सशस्त्र प्रहरीमध्ये ८१ जनामा संक्रमण देखिएको छ । यस्तै १६ जना संक्रमणमुक्त भई आ–आफ्नो कार्यालयमा छुट्टै क्वारेन्टिनमा छन् ।

लामो समयसम्म परिवारबाट टाढा रही अग्रपंक्तिमा सीमामा निरन्तर खटिनु पर्ने, खुल्ला सीमामा नेपाल र छिमेकी मुलुकमा हुने आवतजावतलाई रोक्न क्रियाशील रहनु पर्ने, होल्डिङ सेन्टर तथा क्वारेन्टिनको रेखदेख तथा अन्य विषम् परिस्थितिमा परिचालित हुनु पर्ने र कोरोनाविरुद्धको सचेतना र सुरक्षात्मक उपायको बारेमा संक्रमित नगर, गाउँ तथा बस्तीहरूमा पुगी सेवा प्रवाह गर्नु पर्ने भएकाले सशस्त्र प्रहरीमा पनि संक्रमणको जोखिम उच्च छ ।

बाहिनीले कोरोनासँग सम्बन्धित सूचना, असर तथा अवस्थाका बारेमा अध्यावधिक रहन एवं सुरक्षा परिचालनको रणनीतिक योजना तय गरी सोही अनुरूप परिचालन प्राथमिकता निर्धारण गर्न जिल्लाका प्रत्येक गण र बाहिनीमा क्राइसिस रेस्पोन्स सेल (सीआरसी) खडा गरी काम गर्दै आएको छ ।

बर्दिबासस्थित बाहिनीको सीआरसीका अनुसार हालसम्म प्रदेश २ मा २ हजार ६११ जना आइसोलेसन र ८७६ जना क्वारेन्टिनमा छन् । जसमा १ महिला र ८ जना विदेशी पुरुष समेत छन् । ८ वटा जिल्लामा ५ हजार ६४५ महिला र ८६ हजार ३४६ पुरुष गरी कुल ९२ हजार ९९१ जनामा भएको स्वाब संकलन र परीक्षणमा ९ हजार १५८ जनामा संक्रमण पाइएको छ भने ६३ जनाको मृत्यु र ७ हजार १३३ जनाको नतिजा आउन बाँकी छ ।

५५१ बेडको क्वारेन्टिन निर्माण

सशस्त्र प्रहरीले प्रदेश २ का २० स्थानमा ५५१ बेड क्षमताको क्वारेन्टिन समेत निर्माण गरेको छ । महामारी नियन्त्रणकै लागि आवश्यक परे सीमा ईलाकामा आवतजावतको अनुगमन गर्न प्रदेश सरकारसँगको समन्वयमा प्राप्त ८ वटा ड्रोन समेत परिचालित गरिने तयारी छ ।

सशस्त्र प्रहरी निरीक्षक समेतको सहभागिता रहने भारतसँग सीमा जोडिएका जिल्लाका १३३ वडाहरूमा सम्बन्धित वडाका वडा अध्यक्षको अध्यक्षतामा गठित सीमा निगरानी समितिलाई थप प्रभावकारी बनाई सीमामा हुने गतिविधिको निगरानी अवलोकन र ‘सुरक्षा नागरिक समन्वयात्मक सहभागिता अभियान’ सञ्चालन गरी आवागमनलाई थप कडाई गरिने सशस्त्र प्रहरीले बताएको छ ।

लकडाउनपश्चात् राज्यले तोकिएका सीमा नाकाबाट औपचारिक रूपमा नेपाल प्रवेश गरेकाहरूको कन्ट्याक्ट ट्र्याकिङ निरन्तर नहुँदा कोरोना महामारी फैलिएको निष्कर्षसहित एपीएफले मुख्य केन्द्र बनाई त्यस्ता व्यक्तिहरूको खोजी गरी क्वारेन्टिन तथा आइसोलेसनमा राख्न पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस्तै छिमेकी मुलुकका समकक्षी सुरक्षाकर्मीहरूसँग निरन्तर सम्पर्क, समन्वय र आवश्यक सहकार्य गरी सीमापार अपराध नियन्त्रणको दायरा फराकिलो पार्दै कार्य सम्पादन गरिरहेको बाहिनीले बताएको छ ।

राजस्व संकलनमा सक्रियता

अवैध ओसारपसार तथा तस्करीजन्य क्रियाकलापमा संलग्न हुनेहरूलाई नियन्त्रण गर्न तल्लिन एपीएफले साउन महीनादेखि भदौ ९ गतेसम्म मात्र ६ करोड २६ लाख ४१ हजार ६८२ रूपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ । सोही अवधिमा विभिन्न अपराधमा संलग्न २४ जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ भने ३६ केजी लागूऔषध चरेससहित ठूलो परिमाणमा अन्य लागूऔषध बरामद गरी प्रहरीलाई बुझाएको बताएको छ ।


चालू आर्थिक वर्षको पहिलो महीनामै ८ लाख ६८ हजार ८३३ बराबरको अवैध काठ एवं स्रोत नखुलेको २७ लाख ९५ हजार ७३० रूपैयाँ बरामद गरी सम्बन्धित निकायमा बुझाएको छ ।

उद्दारमा सक्रिय

सशस्त्र प्रहरीले गत महीनामा भएका डुबान, सवारी दुर्घटना एवं आगलागीमा आफ्ना १ हजार ६७७ कर्मचारी परिचालन गरी नागरिकमा सेवा पुर्याएको छ । आर्थिक वर्षको गत १ महीनामा आचरणविरुद्ध कार्य गर्ने ५ जना अधिकृत १ जना जुनियर अधिकृत र ९ जना अन्य दर्जाका गरी १५ जनालाई कारबाही पनि गरेको छिन्नमस्ता बाहिनीले जानकारी दिएको छ ।

सीमा सुरक्षा गतिविधिका थप तस्वीरहरु हेर्नुहोस्–