३० आश्विन २०८३, शुक्रबार

सरकार ‘शून्य’बाट धेरै माथि छ, केही गरेन भन्नु ‘रोगी मानसिकता’ हो : उपप्रधानमन्त्री पोखरेल

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा सरकारले ‘शून्य’बाट धेरै माथि उठेर काम गरिरहेको बताएका छन् ।

कोरोना संक्रमितको पीसीआर परीक्षण गर्न हङकङ पठाउनु पर्ने शुरूवाती अवस्थालाई सरकारले इमानदारिताका साथ काम गरेकै कारण अहिले मुलुकका ४० भन्दा बढी स्थानमा पीसीआर टेस्ट ल्याब स्थापना गरिसकेको बताएका छन् । हाल दैनिक २२ हजार भन्दा बढी पीसीआर परीक्षण गर्न सक्ने क्षमता विस्तार गरिसकेको उपप्रधानमन्त्री पोखरेलले दाबी गरेका छन् ।

सोमबार प्रशारण भएको टेलिभिजन कार्यक्रम ‘फायरसाइड’लाई अन्तर्वार्ता दिँदै उनले सरकारले केही नै नगरेको भन्ने आरोपको कडा रूपमा खण्डन गरेका छन् । ‘हामी आज जुन ठाउँमा छौं, थुप्रै कमीकमजोरीहरू भएका होलान्, ढंग नपुग्ने काम पनि भएका होलान्, तरीका नपुगेका तथा चुनौतीहरूलाई ठिक ढंगले चिर्न बेलैमा नसकेका हौंला’, मन्त्री पोखरेलले भने, ‘तर हामी इमानदारीका साथ महामारी नियन्त्रणमा खटिएका छौं । यद्यपि, प्रभावकारितामा कमी आएको हुन सक्छ त्यसैका आधारमा इमानदारिता रहेन भनेर चित्रित गर्नु, अभिव्यक्ति दिनु, चार्ज गर्नु सरकारका लागि न्याय हुँदैन ।’

अहिले कतिपय मानिसले अमूर्त ढंगले सरकारको हिसाबकिताब गरिरहेको भन्दै पोखरेलले विषयकेन्द्रित र तथ्यपरक बहस तथा छलफल गर्न पनि सबैमा आग्रह गरेका छन् । ‘हामीले महामारीको सामना गर्नुपरेको शुरूवाती अवस्था कस्तो थियो ? चीनमा संक्रमण फैलियो भन्दा हाम्रा विद्यार्थी भाइबहिनीहरू ल्याउने बेलामा हाम्रो मानसिकता कस्तो थियो ? विद्यार्थी राख्न, उनीहरूको परीक्षण गर्न र संक्रमितको उपचार गर्ने सवालमा हामी कहाँनिर थियौं’, पोखरेलले भने, ‘एउटा रि–एजेन्ट नहुँदा, टेकुमा भएको ल्यावले काम गर्न नसक्दा परीक्षणका लागि हङकङ पठाउनु परेको थियो । र, आज यही अवधिमा देशका ४० ठाउँमा पीसीआर परीक्षण गर्ने ल्याबहरू स्थापना भएका छन् ।’

यो अवधिमा डेडिकेटेड हस्पिटल ४८, हब हस्पिटल २५, प्रादेशिक अस्पतालहरू ६४, निजी तथा मेडिकल कलेजहरूसहित ३६ गरी १७३ ओटा हस्पिटलको थप व्यवस्था गरिएको पनि जानकारी दिएको छ । यस्तै कोभिड क्लिनिक ११५ ओटा, आईसीयू ९४२, भेन्टिलेटर ४९६ थप गरिएको उनको भनाइ छ ।

‘हामीले कोभिड डेडिकेटेड हस्पिटलहरू, कोभिड हब हस्पिटलहरू, पीसीआर परीक्षण गर्ने अस्पतालहरूको हामीले संख्यात्मक रूपमा व्यवस्था गरेका छौं’, उनले भने, ‘प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र कतिपय ठाउँमा स्थानीय तहसम्मै हामीले यी कुराको स्थापना गरिसकेका छौं ।’

यस्तै क्वारेन्टिन, आइसोलेसन बेड, होल्डिङ सेन्टर निर्माण गर्ने, स्वास्थ्य र सुरक्षाकर्मीहरूलाई व्यवस्थित रूपमा परिचालन गर्ने, अग्रपंक्तिमा रहेर महामारीसँग जुध्नेलाई इन्सेन्टिभ दिनेलगायत विषयहरूमा सरकारले औपचारिक निर्णय गरेर कार्यान्वयन गरिरहेको पनि सो अवसरमा उनले बताए ।

उनले यो अवधिमा डेडिकेटेड हस्पिटल ४८, हब हस्पिटल २५, प्रादेशिक अस्पतालहरू ६४, निजी तथा मेडिकल कलेजहरूसहित ३६ गरी १७३ ओटा हस्पिटलको थप व्यवस्था गरिएको पनि जानकारी दिएको छ । यस्तै कोभिड क्लिनिक ११५ ओटा, आईसीयू ९४२, भेन्टिलेटर ४९६ थप गरिएको उनको भनाइ छ ।

नेपालमा कोरोना संक्रमणको मुख्यविन्दु भारतबाट आउने नेपाली र त्यसको इन्ट्री प्वाइन्ट काठमाडौंबाहिर नै भएकाले सरकार त्यता केन्द्रित हुँदा काठमाडौं उपत्यकालाई ध्यान दिन कमी भएको स्वीकार गर्दै उपप्रधानमन्त्री पोखरेलले अन्यत्रको तुलनामा उपत्यकामा भौतिक संरचना बढी भएको र यसले धान्छ भन्ने मानसिकताले केही काम गरेको उनले बताए ।

तर, केही मानवीय त्रुटिहरूलाई लिएर, त्यसैलाई दृष्टान्त बनाएर सरकारको एकोहोरो आलोचना मात्रै गर्नु ‘रोगी मानसिकता’ भएको टिप्पणी समेत उनले गरेका छन् । सीसीएमसीको कार्यसम्पादन, विभागीय मन्त्रीका रूपमा नेपाली सेनासँगको विवाद र उद्धार उडानलगायत विषयमा बाहिर आएका सबै कुरा मिथ्या भएको भन्दै अन्तर्वार्तामा तथ्यसहित खण्डन समेत गरेका छन् ।