
काठमाडौं, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानमा निम्ति महासचिव विष्णु पौडेल नेतृत्वको विवाद समाधान कार्यदलले दिएको सुझाव प्रतिवेदनमाथि छलफल गर्न नेकपाले सचिवालय बैठक बोलाएको छ ।
मंगलबार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि सचिवालय बैठक आह्वान गर्ने सहमति भएको हो । सचिवालय बैठक आगामी १३ गते शनिबार ११ बजे बस्ने मिति तय गरिएको छ ।
विवाद समाधान कार्यदलले दुई दिनअघि शनिबार बुझाएको प्रतिवेदन अध्ययनपछि यस्तो निर्णय लिइएको हो ।
नेकपाको आन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
जसमा ओलीले सरकार सञ्चालनमा केन्द्रीत हुने र प्रचण्डले पार्टी सञ्चालनमा केन्द्रीत हुने सुझाव दिइएको छ । त्यस्तै सरकारलाई थप प्रभावकारी बनाउन केन्द्र तथा प्रदेशका मन्त्रीहरु हेरफेर गर्न समेत प्रतिवेदनले सुझाव दिएको छ ।
एकता महाधिवेशन, पार्टी एकतालाई पूर्णता तथा पार्टी विधि विधान अनुसार पार्टी चलाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ । दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।















प्रतिक्रिया