आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

अमेरिकामा अश्वेत पुरूषमाथि प्रहरीद्वारा थुप्रै राउन्ड गोली प्रहार

दैनिक नेपाल २०७७ भदौ ९ गते ७:४३

न्युयाेर्क, ९ भदाै । अमेरिकाको विस्कॉन्सिन राज्यको केनोशा शहरमा एक अश्वेत पुरूषमाथि त्यहाँको प्रहरीले थुप्रै राउन्ड गोली प्रहार गरेपछि सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले सोमबार नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।

आफ्ना तीन बच्चाहरूको सामुन्ने गोली हानिएका ती व्यक्ति २९ वर्षीय याकुब ब्लेक भएको रोयटर्सले जनाएको छ । शल्यक्रिया गरिएका उनको उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ। उनीमाथि प्रहरीले आइतबार नियन्त्रणमा लिने क्रममा ढाडमा करिब ७ राउण्ड गोली प्रहार गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

घटनाको सार्वजनिक भएको भिडिओमा प्रहरीको घेराबन्दीका बाबजुद आफ्नो गाडीमा प्रवेश गर्ने लागेका ती पुरूषलाई उनको लुगामा समातेर प्रहरीले गोली हान्दै गरेको देखिन्छ ।

प्रहरीले गोली हान्दा उनका तीन सन्तान गाडी भित्र नै थिए । प्रहरीको यो ज्यादती सार्वजनिक हुनेबित्तिकै त्यहाँ नागरिकहरू प्रदर्शनमा उत्रेका छन् ।

नागरिकहरूको प्रदर्शन थप हिंस्रक हुने अनुमान गर्दै सो राज्यका गभर्नरले नेशनल गार्ड परिचालन गर्ने आदेश दिएका हुन् । प्रहरीले गाडीभित्र केही अन्य केही देखेर गोली चलाएका हुन् या यत्तिकै गोली चलाए भन्ने बारेमा केही थाहा हुन सकेको छैन ।

यसअघि केही महिना अगाडि अमेरिकाको मिनियापोलिसमा अफ्रिकीमुलका एक अमेरिकी नागरिकको निधन भएपछि अश्वेत अमेरिकीमाथिको प्रहरीको विभेदपूर्ण व्यवहारको विरोध गर्दै अमेरिकाभर व्यापक प्रदर्शनहरू भएका थिए ।

त्यतिबेला प्रहरी नियन्त्रणमा रहेका बेला अफ्रिकीमुलका अमेरिकी नागरिक जर्ज फ्लोइडको मृत्यु भएको थियो । प्रहरीले नियन्त्रणमा लिनेक्रममा घुँडाले लामो समयसम्म जर्जको घाँटी थिच्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित