२ कार्तिक २०८३, सोमबार

विद्यालयको होस्टल क्वारेन्टाइन बनाइने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदाै । सरकारले उपत्यकाका विद्यालयको होस्टलमा क्वारेन्टाइन राख्ने भएको छ । त्यसका लागि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय र प्रहरीले उपत्यकाका ठूला विद्यालयको छात्रावास निरीक्षण शुरु गरेको छ ।

आइतबार तीनै जिल्लाका प्रजिअको बैठकले उपत्यकामा क्वारेन्टाइनको अभावका कारण कोरोना संक्रमणको अवस्था जटिल हुन सक्ने आकलन गर्दै विकल्पका रुपमा विद्यालयको होस्टललाई प्रयोगमा ल्याउन सक्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सोही रातीदेखि उपत्यकाका ठूला विद्यालय र होस्टलको अवस्था, त्यसको क्षमताको बारेमा जाँचबुझ गरेको थियो ।

लगत्तै हिजो सोमबार तीनै जिल्लाका प्रहरी परिसर, वृत्त, प्रभाग र चौकीमा कार्यरत प्रहरीले विद्यालयको अवस्था बुझेका थिए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विकल्पका रुपमा विद्यालयको होस्टल प्रयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइनका रुपमा छनोट भएका विद्यालयमा कोरोनो संक्रमितलाई राखिँदैन । एक हप्तासम्म राखेर पठाउनका लागि विद्यालयको होस्टललाई क्वारेन्टाइन बनाउन लागेका हौं ।’

सरकारको निर्देशनअनुसार स्थानीय प्रशासनले पहिलो चरणमा विद्यालयको होस्टल र आवश्यकताका आधारमा विद्यालय नै प्रयोग गर्ने तयारी गरिरहेको छ । प्रजिअको निर्देशनमा सोमबार दिनभर तीनवटै जिल्लाका स्थानीय प्रहरीले विभिन्न क्षेत्रका विद्यालयको निरीक्षण गरेका थिए ।

‘माथिको आदेश भन्दै विद्यालयमा प्रवेश गरे, होस्टल भए नभएको बारेमा जानकारी लिएर कति जनालाई व्यवस्थापन गर्न सकिन्छ क्षमताको बारेमा अध्ययन गरेर गए।’ –एक विद्यालय सञ्चालकले भने । ललितपुरका प्रजिअ नारायण भट्टले विद्यालयको छात्रावासमा क्वारेन्टाइन बनाउने बारेमा आफूलाई जानकारी नभएको बताउनुभयो । तर, उहाँकै निर्देशनमा मंगलबार दिनभर प्रहरीको विभिन्न टोलीले विद्यालयको निरीक्षण गरेको थियो ।

सांसद एवं प्याब्सनका सल्लाहकार उमेश श्रेष्ठले आफूलाई ललितपुरका प्रजिअ भट्टले फोन गरेर विद्यालयमा क्वारेन्टाइन बनाउन सक्ने वा नसकिने विषयमा जानकारी लिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सीडीओले विद्यालयको अवस्थाबारे सोध्नुभएको थियो, मैले राज्यलाई आपत् परेको अवस्थामा स्थान उपलब्ध गराउने विषयमा सहयोग गर्न तयार रहेको बताएँ ।’

ललितपुरका प्रजिअसँगको कुराकानीमा उहाँले पहिलो चरणमा उपत्यकाका सुविधा सम्पन्न सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउन सुझाएको बताउँदै त्यसपछि मात्र निजी विद्यालय प्रयोग गर्न आग्रह गरेको बताउनुभयो । ईश्वरराज ढकालले नेपाल समाचार पत्र दैनिकमा खबर लेखेका छन् ।