
काठमाडौं, ७ भदौ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा थप १ जना नेपालीको ज्यान गएको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जमबर्गमा १ जनाको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १६ ओटा देशमा १९२ जना नेपालीहरुको निधन भएको छ ।
स्वास्थ्य समितिका अनुसार यो साता पनि अष्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार र साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको हो । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएको समितिले जनाएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) शुरु भइसकेको छ । सापकोटाले कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायत १६ वटा देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।
हाल सम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २५३ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।
नेपालमा शनिबार साँझसम्म १४६ जनाको कोरोनाका कारण ज्यान गएको छ ।















प्रतिक्रिया