३० आश्विन २०८३, शुक्रबार

छिमेकीबाट स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अमानवीय र आपराधिक : साझा पार्टी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । साझा पार्टीले स्वास्थ्यकर्मी तथा डाक्टरहरुमाथि दुर्व्यवहार गर्नु अमानवीय र आपराधिक क्रियाकलाप भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ ।

पर्याप्त स्रोत साधनबिना पनि जनस्वास्थ्य संकटको समयमा विश्रामसमेत नलिई बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको साझा पार्टीको धारणा छ ।

आइतबार पार्टीको वेबसाइटमार्फत प्रेस विज्ञप्ति जारी गर्दै साझाले घटनाबारे आफ्नो धारणा सार्वजनिक गरेको हो । स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप गर्ने व्यक्ति या समूहलाई तत्कालै कारबाही गर्न साझाले जोडदार माग गरेको छ ।

विपद्को यो घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु र चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य हो । सबै नागरिकले त्यसो गरेमामात्र कोभिड १९ विरुद्धको हाम्रो साझा लडाईँ केही सहज हुने छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ ।

देशभरका स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानित महसुस गर्ने अवस्था बनाईराख्न आवश्यक भूमिका खेल्न साझा पार्टी आफ्ना सदस्य, शुभेच्छुक तथा आम सर्वसाधारणलाई अपील गर्दछ ।