३० आश्विन २०८३, शुक्रबार

नवलपरासीमा ४ दिन निषेधाज्ञा थप

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • मोहन पौडेल

 

परासी, ६ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा चार दिन निषेधाज्ञा थपिएको छ ।

जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले आगामी भदौ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि यसअघि साउन ३१ गते राती १२ बजेदेखि भदौ ६ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

अझै पनि सङ्क्रमणको अवस्थाबाट मुक्त नभई सकेको तथा समुदाय स्तरमा सङ्क्रमणको अवस्थालाई न्यूनीकरण गर्न थप निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिन आवश्यक महशुस भएकोले ४ दिन थप गरिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

निषेधाज्ञा अवधिमा विरामी एवं अत्यावश्यक काम बाहेक सकभर घरबाहिर ननिस्कन, भीडभाड नगर्न, अनावश्यक आवतजावत नगर्न, बाहिर निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न लगायत स्वास्थ्य सुरक्षा सतर्कता र मापदण्डको पूर्ण पालना गर्न उनले आग्रह गरेका छन् ।

कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको सन्दर्भमा जिल्लाभित्र यस रोगको सङ्क्रमणलाई थप फैलिन नदिनका लागि विभिन्न उपायहरु अवलम्बन गरिएको तथापी समुदायस्तरमा कोभिड–१९ को परीक्षण गर्दा विभिन्न कार्यालयका कर्मचारी, सर्वसाधारण, व्यवसायीहरुमा सङ्क्रमण देखिएका हुँदा समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पाठकको भनाइ छ ।

निषेधाज्ञा अवधिमा कुनै पनि प्रकारको बैठक, भेला, छलफल, सामुहिक जमघट गर्न निषेध गरिएको छ । निषेधाज्ञाको अवधिमा जिल्लाभित्र सञ्चालित बैङ्क तथा वित्तीय संस्था र सहकारीहरुमा अधिकतम रुपमा विद्युतीय सेवामा जोड दिन तथा मानिसको भौतिक उपस्थितिमा दिइने सेवाहरु निषेधाज्ञा अवधिभर स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बढी जनसम्पर्क हुने कार्यालय/निकायहरुले अत्यावश्यक सेवाहरु न्यूनतम जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गरी सेवा प्रदान गर्न निर्देशन गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पश्चिम नवलपरासीमा हालसम्म १४२ जनालाई कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।