
काठमाडौं, ६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले खाडीका श्रमिकलाई सरकारले ‘वर्ग शत्रु’ को व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेको छ ।
विशेमा रहेका नेपालीलाई महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने निर्णय गरेर सरकारले श्रमिकको पीडामाथि पीडा थपेको भन्दै कांग्रेसले विरोध जनाएको छ । सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि ‘सर्वहारा माथि अधिनायकवाद’ भन्दै कांग्रेसले प्रधानमन्त्रीमाथि प्रश्न तेस्र्याएको छ ।
गएको असार १ गते सोमबार सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो । न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुयाँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता नदेखाएको कांग्रेसको आरोप छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश सुवेदीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सर्वोच्चको आदेशविपरीत दुई महीनापछि पुनः महंगो चार्टर फ्लाईटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ ।’
‘प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो । राज्यको यो दायित्व बारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ । आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोहोर्याउँदै प्रश्न गर्न चाहन्छौ— ६ महीनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरीद गर भन्नू कति न्यायोचित छ ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू ?’, विज्ञप्तिमा लेखएिको छ ।
सरकारले विदेशबाट नेपालीलाई उद्वार गर्न तत्पर्ता देखाए पनि मानवीय भावना कम उद्वारमा ब्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको भनाइ छ । ‘एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टिनमा सात दिनको खर्च ब्यहोर्नु पर्ने, तेस्रो पीसीआर परीक्षण आफै गराउनु पर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नु पर्ने’, विज्ञप्तिमा लेखिएको छ, ‘अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘बर्ग शत्रु’ को व्यवहार ?’















प्रतिक्रिया