
काठमाडौं, ५ भदौ । कोरोना संक्रमणको अवस्था भयावहतिर मोडिदै गर्दा मुलुकभर १० हजार भेन्टिलेटर र आइसीयूको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
संघीय संसद प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । पर्याप्त स्वास्थ्य सामग्रीको जोहो गर्दै जनताको स्वास्थ्य सुरक्षामा गम्भीर भएर लाग्न सरकारलाई भनेको छ ।
भर्चुअल माध्यमबाट बसेको सो बैठकले भेन्टिलेटर र आइसीयूको सञ्चालन गर्न सक्ने दक्ष जनशक्तिको आवश्यकताका आधारमा नियुक्ति गर्नु पर्ने पनि बताएको छ ।
समितिले ७७ वटै जिल्लामा पीसीआर परीक्षणको व्यवस्था मिलाउन, कन्ट्र्याक्ट ट्रेसिङलाई तीव्रता दिन, कोरोना डेडिकेटेड अस्पतालको संख्या तत्काल वृद्धि गर्न, कोरोना र कोरोना बाहेकका बिरामी उपचार एउटै अस्पतालबाट गर्नु पर्ने अवस्थामा पूर्व सावधानी र उचित सतर्कता साथ गर्ने गरी प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।















प्रतिक्रिया