
काठमाडौं, ४ भदौ । नेपालकै सबैभन्दा ठूलो फलाम खानी मानिएको नवलपुरको धौवादी फलाम खानीको प्राविधिक परीक्षणको सबै नतिजा सकारात्मक आएको छ ।
खानी तथा भूगर्भ विभागले ५ टन कच्चा पदार्थ चीनमा पठाएर गरेको प्राविधि परीक्षको अन्तिम नजिता सकारात्मक आएको खानी तथा भूगर्भ विभागका उप–महानिर्देशक जयराज घिमिरेले बताए ।
विभागले चीनको छेन्दूमा रहेको सिचुवान इन्ष्टिच्युट अफ मेटालजिकल जिओलोजी एन्ड एक्स्प्लोरेसन कम्पनीमा नमूना पठाएर धौवादी फलाम खानीको ‘इन्डस्ट्रियल स्केल’मा परीक्षण गराएको थियो । अब धौवादीमा औद्योगिक रूपमा फलामको उत्खनन् गर्न सकिने प्रमाणित भएको छ ।
उक्त कम्पनीले केही दिनअघि परीक्षण नतिजाको संक्षिप्त विवरण विभागमा पठाएको छ । ‘धौवादी फलाम खानीबाट पठाएको नमूनाको ‘इन्डस्ट्रियल स्केल’को परीक्षण सफल भएको भन्ने भिडिओ रिपोर्ट प्राप्त भएको छ । केही हप्तामा विस्तृत प्रतिवेदन प्राप्त हुन्छ’, घिमिरेले भने ।
नवलपुरको हुप्सेकोटा गाउँपालिका–५ को धौवादी डाँडामा फलामखानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो । धौवादीमा १० किलोमिटर लामो फलाम खानी पत्ता लागेको थियो ।
खानीको नमूना संकलन गरी प्रयोगशाला परीक्षण गर्दा सकारात्मक नतिजा आएपछि विभागले औद्योगिक उत्पादन सम्भाव्यता परीक्षणको लागि नमूना चीन पठाएको थियो ।
धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको छ । त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ । पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पुर्याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुन्छ ।















प्रतिक्रिया