काठमाडौं, ४ भदाै । बर्सेनि अर्बौं रकम लगानी भइरहेका मुलुकका अधिकांश विश्वविद्यालय लथालिंग हालतमा छन्। सरकारले पदाधिकारी नियुक्त नगर्दा विश्वविद्यालयहरू चलायमान बन्न सकेका छैनन्। जसका कारण लगानीको सदुपयोग हुन सकेको छैन।
चितवनस्थित कृषि तथा वन विज्ञान, नेपाल संस्कृत र पोखरा विश्वविद्यालय एक वर्षदेखि नेतृत्वविहीन छन्। यी विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डिन, क्याम्पस प्रमुखलगायत पदाधिकारीहरू नियुक्त हुन सकेका छैनन्। मूल नेतृत्व भएका अन्य विश्वविद्यालयमा पनि तालाबन्दी र आन्दोलनका कारण नतिजामुखी काम हुन सकेको छैन। त्यसमाथि कोभिड– १९ संक्रमण त्रासका कारण लकडाउन गरिएपछि समस्या भएको छ। कोरोना प्रभाव र पदाधिकारी अभावको पीडा विश्वविद्यालयले भोगिरहेका छन्।
सत्ताधारी दल नेकपाका दुई अध्यक्षबीच भागबन्डा नमिल्दा विश्वविद्यालयको नियुक्ति रोकिएको हो। त्यसमाथि विपक्षी कांग्रेसले पनि भाग खोजेपछि समस्या थप जटिल बनेको छ। यसले सबै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको छ।
कृषि तथा वन विज्ञानमा प्रा.डा. शारदा थपलिया एक वर्षदेखि निमित्त छिन्। उनी पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायकी डिन थिइन्। त्यसको पदावधि गत जेठमै सकिए पनि उनी निमित्त प्रमुखकै जिम्मेवारीमा छिन्। उनी उपकुलपतिको प्रतिस्पर्धामा देखिएकी छन्। उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको साथ पाएकी छन्। नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले भने आफ्नै गुटनिकट व्यक्तिलाई नियुक्त गर्नुपर्ने अडान लिएको छ। कृषिमा तीन जना डिनमध्ये दुई जनाले कायममुकायमका रूपमा काम गरिरहेका छन्। विश्वविद्यालयको नीति निर्माणमा महत्वपूर्ण निर्णय गर्ने कार्यकारी परिषद् पनि अपूर्ण छ।
‘विश्वविद्यालय जीवित छ वा मृत भन्ने बुझ्न कठिन छ’, विश्वविद्यालयका सहप्राध्यापक डा. ईश्वरी कडरियाले भने। विश्वविद्यालयभित्रको समस्या भनिसाध्य छैन। कहाँबाट सुरु गरेर कसरी अन्त्य गर्ने भन्ने नै अन्योल छ। अधिकांश विभाग, संकाय लथालिंग छन्। कर्मचारी आन्दोलन र तालाबन्दी पनि जारी छ। यो विश्वविद्यालयमा निजी क्याम्पसलाई सम्बन्धन दिएको विषयमा विवाद भएपछि अघिल्लो दुई वर्ष आन्दोलन र तालाबन्दीमै बितेको थियो। यहाँ वार्षिक ८० करोड रुपैयाँ हाराहारी सरकारी लगानी छ।
पोखरा विश्वविद्यालयमा गत असोज ६ गते तत्कालीन उपकुलपति र ७ गते रजिस्ट्रारको पदावधि सकिएको थियो। उनीहरू त्यसको दुई महिनाअघि नै अन्य व्यक्तिलाई निमित्त तोकेर बिदा बसेका थिए। त्यसपछि विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन बुद्धिराज जोशीलाई दैनिक प्रशासन चलाउने गरी कायममुकायमको जिम्मेवारी दिइएको थियो। जोशी उमेर हदका कारण अवकाशमा गइसकेका छन्। यो विश्वविद्यालयमा उपकुलपति, रजिस्ट्रार, परीक्षा नियन्त्रक, तीन संकायका डिन, तीन कार्यकारी निर्देशक, तीन स्कुल निर्देशकलगायत पद रिक्त छन्। शिक्षक, कर्मचारीले गत वैशाखदेखि तलब पाएका छैनन् । सूर्यप्रसाद पाण्डेले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया