जनकपुरधाम, २९ साउन । प्रदेश २ मा प्रहरी संगठनभित्र कोरोनाको जोखिम बढ्दै छ। सातवटै प्रदेशमध्ये यो प्रदेश उच्च जोखिममा छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका ब्यारेकभित्र कोरोना संक्रमण बढेको हो। लकडाउन कार्यान्वयन र अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरी, गाउँदेखि सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी र कोरोनाबाट संक्रमित शव व्यवस्थापनमा खटिएका नेपाली सेना र उनीहरूको सम्पर्कमा आएका अरूलाई कोरोना संक्रमण देखिएको हो।
प्रदेश २ को मध्यपूर्वी पृतनाका पृतनापतिसहित नेपाली सेनाको संगठनभित्र १५ जना, नेपाल प्रहरीको संगठनभित्र इन्स्पेक्टरलगायत ९२ जना र सशस्त्र प्रहरीको संगठनभित्र डीएसपीसहित २२ जना कोरोना संक्रमित भएको स्रोतले जनाएको छ। प्रदेश २ कोरोना संक्रमणबाट हालसम्म ३२ जनाको मृत्यु भएको जनस्वास्थ्य निर्देशनालयका वरिष्ठ प्रशासक विजयकुमार झाले बताए।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित नेपाली सेनाको ब्यारेकभित्र कोरोना संक्रमण फैलिएको छ। रणभीम गण पर्कौली ब्यारेकका १५ जना सैनिकमा कोरोना संक्रमण भेटिएको महोत्तरीका सीडीओ कृष्णबहादुर कटुवालले जनाए। स्रोतका अनुसार क्याप्टेनसहित १५ जना संक्रमित भएका छन्। यसअघि आठ जना सैनिक संक्रमित भएका थिए। जलेश्वरमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थान गर्न खटिएका सेनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य कार्यालय महोत्तरीका सूचना अधिकारी तथा कोभिड फोकल पर्सन गिरेन्द्रकुमार झाका अनुसार केही दिन पहिले नगरपालिकाको कार्यालयमा कार्यरत एक जना ओभरसियरमा कोरोना पुष्टि भएको थियो। विराटनगरमा ती कर्मचारीले कोराना जाँच गराउँदा संक्रमण भेटिएपछि उनले आफ्नो कार्यालयमा जानकारी गराएका थिए। उनको कन्ट्याक्ट टे«सिङ आएका सहितका ५३ जनाको कोरोना परीक्षण गर्दा नेपाली सेनासहित ३० जनामा संक्रमण भेटिएको थियो।
प्रदेश २ मा कार्यरत ९२ जना नेपाल प्रहरीमा हालसम्म कोरोना संक्रमण देखिएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता अंशु सिंहले जनाएअनुसार ३९ जना कोरोना जितेर अस्पतालबाट फर्किएका छन् भने ५३ जना अझै कोरोना अस्पतालको आइसोलेनसनमा उपचार गराइरहेका छन्। तालिमे प्रहरी, प्रशिक्षक प्रहरी हबलदार तथा इन्स्पेक्टरसम्मलाई कोरोना लागेको हो। थुनुवामा कोरोना भेटिएपछि प्रहरी कार्यालय नै सिल गर्नु परेको अवस्था छ। प्रहरीलाई कोरोनो लागेपछि अपराध अनुसन्धान प्रभावित बनेको छ। राजकरण महतोले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।















प्रतिक्रिया