२ कार्तिक २०८३, सोमबार

संक्रमण बढेपछि थप कडाइ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेस्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।

सरकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

सरकारले चाडपर्वहरू आआफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउन पाउने निर्णय पनि गरेको छ ।

सरकारले शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखानाको निषेध यथावत् राख्ने निर्णय गर्दै पालनामा कडाइ गर्ने निर्णय गरेको छ ।

यस्तै, फुटपाथ-खुला ठाउँ र ठेलागाडा-साइकल सञ्चालनमा भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडाको व्यवसाय निषेध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लामो दुरी (अन्तरजिल्ला) सञ्चालन हुने यातायात सेवा पनि तत्काल नखुलाउने भएको छ । यसअघि १ भदौदेखि सञ्चालन गर्न दिने निर्णय गरेकामा सोमबारको मन्त्रिपरिषद् बैठकले १६ भदौसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।
सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान नखुलाउने निर्णयसमेत गरेको छ । सरकार प्रवक्ता, अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमबारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय उडान ३१ भदौ राति १२ बजेसम्म बन्द गरिएको र स्वदेश आउनैपर्नेलाई सहजीकरण गरेर ल्याइने जानकारी दिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूमध्ये ५ सयलाई मात्र उद्धार गर्ने भएको छ । सरकार प्रवक्ता खतिवडाले दैनिक अधिकतम ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको जानकारी दिँदै नेपालीहरूलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए ।

सरकारले भारतबाट कामदार ल्याउन पनि प्रतिबन्ध लगाएको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरूले लुकीछिपी कामदार ल्याए कारबाही गरिने डा. खतिवडाले बताए । राजधानी दैनिकमा टेनिस राेकाले समाचार लेखेका छन् ।