आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

कोरोनाविरुद्धको पहिलो खोप बनाएको रुसको घोषणा

दैनिक नेपाल २०७७ साउन २७ गते १८:०३

काठमाडौँ, २७ साउन । रुसले कोरोनाभाइरसविरुद्धको विश्वकै पहिलो खोप तयार गरेको घोषणा गरेको छ ।

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो खोपको सफल परीक्षण भएर मान्यता दिइएको बताएका हुन् ।

रुसको गामालिया रिसर्च सेन्टरले बनाएको उक्त भ्याक्सिनलाई रुसको स्वास्थ्य मन्त्रालयले मान्यता दिएको हो ।

पुटिनले कोरोना विरुद्धको खोपबारे मंगलबार मस्कोमा सरकारका मन्त्रीहरुलाई जानकारी दिएका थिए । पुटिनले यो भ्याक्सिन उनकै छोरोमा समेत प्रयोग गरिएको बताएको बीबीसीले जनाएको छ ।

पुटिनले खोपको सफल परीक्षण भइसकेको र कोरोना विरुद्ध लड्नका लागि रोग प्रतिरोधात्मक क्षमता पनि विकास गरेको उल्लेख गरेका छन् ।

उक्त खोप एडिनोभाइरससँग आधार भएर तयार गरिएको र खोपमा कोभिड(१९का मृत तत्व रहेको र यिनीहरु वृद्धि हुन नसक्ने गामालिया रिसर्च सेन्टराका प्रमुख एलेक्जेन्टर गिन्चबर्गले बताएका छन् ।

तर, विज्ञहरुले भने यो भ्याक्सिनबारे प्रश्न पनि उठाएका छन् । बीबीसीका अनुसार उनीहरुले यसको परीक्षणको तीव्रतालाई लिएर प्रश्न गरेका छन् ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले क्लिनिकल टेस्टको तेस्रो चरणमा पुगेका भनेको ६ वटा भ्याक्सिनमा यो नपरेको पनि बीबीसीले उल्लेख गरेको छ ।

रुसमा हालसम्म ८ लाख ९१ हजार मानिसहरुमा कोरोना संक्रमण देखिसकेको छ । चीनको वुहान सहरबाट सन् २०१९को अन्तिमदेखि फैलन सुर गरेको कोरोना भाइरस हालसम्म विश्वको १ सय ८८ भन्दा मुलुकहरुमा देखा परिसकेको छ ।

कोरोनाका सबैभन्दा बढी संक्रमित क्रमशः अमेरिका, ब्राजिल र भारतमा रहेको जोन हप्सिकन विश्वविद्यालयले उल्लेख गरेको छ । –बीबीसी

प्रतिक्रिया
सम्बन्धित