
नुवाकोट, २७ साउन । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै मंगलबारदेखि निषेधाज्ञाको क्षेत्र बढाएर सेना परिचालन गरिएको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गरिएको बताइएको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यसअघि कायम रहेको क्षेत्रभन्दा बाहिरको दुप्चेश्वर गाउँपालिकामा समुदायमा कोरोना रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै मंगलबारदेखि ८ दिनका लागि थप क्षेत्रमा निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए ।
उनका अनुसार मंगलबारदेखि निषेधाज्ञा लागू भएको क्षेत्रमा दुप्चेश्वर गाउँपालिकाको सबै स्थान, तादी गाउँपालिका–२, ३, ४ र ५, पञ्चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१, २, ३, ४ र ५ एवं तारकेश्वर गाउँपालिका–२, ४, ५ र ६ मा ८ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।
नुवाकोटमा दुप्चेश्वर गाउँपालिकामा सोमबार वडाध्यक्ष, बैंकका सुरक्षाकर्मीसहित चारजनामा कोरोना रोगको सङ्क्रमण देखिएसँगै यसअघि लगाइएको निषेधाज्ञाको क्षेत्र बढाउन जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेअनुसार मंगलबारदेखि प्रशासन कार्यालयले निषेधाज्ञा लगाइएको हो ।
हालसम्म नुवाकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । जिल्लाको विदुर नपा–८ र दुप्चेश्वर गापा–६ मा समुदायमा कोरोनाको सङ्क्रमण फैलिएसँगै निषेधाज्ञा लगाउन थालिएको हो ।















प्रतिक्रिया