
बैतडी, २६ साउन । बैतडीमा १ जना गर्भवतीसहित कोरोना संक्रमितको संख्या ३२१ जना पुगेको छ ।
पाटन नगरपालिका–३ की १९ वर्षीय महिलामा आइतवार कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए ।
उपचारका लागि डडेल्धुरा अस्पताल पुगेकी ती महिलाको साउन २३ गते स्वाब संकलन गरिएकोमा कोरोना पुष्टि भएको उनले बताए । अहिले ती महिलाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
स्क्रब टाइफस भएपछि ती महिलालाई अस्पताल पुर्याइएको थियो ।
कुनै ट्राभल हिस्ट्री नभएकी महिलामा कोरोना पुष्टि भएपछि समुदायमा संक्रमण फैलिएको आशंका गरिएको छ । संक्रमित महिलाका श्रीमानसहित उनको परिवारका सदस्यको स्वाब संकलन गरिने स्वास्थ्य शाखा पाटनले जानकारी दिएको छ ।
ती महिला घरबाट कतै बाहिर गएकी थिइनन् । ती महिलालाई स्ट्रेचरमा बोकेर सडकसम्म पुर्याउने स्थानीय १५ जनालाई पनि अलगै होम क्वारेन्टाइनमा ७ दिन बस्न आग्रह गरिएको छ भने उनीहरुको पनि ७ दिनपछि स्वाब संकलन गरिने भएको छ ।
कोरोना पुष्टि भएका ३२१ जना मध्ये सुर्नया गाउँपालिकाका १२ जना र मेलौलीका एक जना मात्रै आइसोलेसनमा छन् । बाँकी संक्रमण पुष्टि भएका ३०७ जना भने डिस्चार्ज भइसकेका छन् ।
जिल्लामा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ६० जना संक्रमित छन् । यस्तै शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ४०, दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २८, सुर्नया गाउँपालिकाका २६, पाटन नगरपालिकाका २४, पुर्चौंडी नगरपालिकाका ९ र डिलाशैनी गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।















प्रतिक्रिया