मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

दुई साता लकडाउन गर्न विज्ञको सुझाव

दैनिक नेपाल २०७७ साउन २० गते १४:३२

काठमाडौं, २० साउन । बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि फेरि दुई साता लकडाउन गर्न सरकारलाई विज्ञहरुले सुझाव दिएका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरु र प्रमुख प्रतिपक्षी दलका नेताहरुसहित गरेको छलफल तथा परामर्शमा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल गरेका थिए ।

सीसीएमसीका पदाधिकारी र विभिन्न विज्ञसहितको सो छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्थ ठाकुर पनि सहभागी थिए ।

लकडाउन घोषण भएको खण्डमा पनि सरकारले त्यसबीचमा प्रभावकारी काम गर्नु पर्ने, यसअघिका लकडाउनको त्रुटीहरुलाई सच्याउँदै अगाडि बढ्न पर्ने विज्ञहरुको सुझाव छ ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीलाई सरकारको विरोध गर्ने अवसरका रुपमा लिएको प्रति दुःख व्यक्त गरेका छन् । लकडाउन लगाउँदा किन लगाएको ?, खोल्दा किन खोलेको ? र फेरि किन नलगाएको जस्ता प्रश्नहरु गर्दै सरकारको एकोहोरो आलोचना गर्नु अनुचित भएको ओलीको भनाइ छ ।

यतिबेला सबैको साथ र सहयोगमा कोरोना परास्त गर्नु पर्ने मुल दायित्व भएको बेलामा सरकारमाथि मात्रै प्रश्न र आलोचनाको तिर सोझ्याएर कोरोना नियन्त्रण हुन नसक्ने ओलीको भनाइ छ ।

छलफलमा विज्ञले दिएको सुझाव प्रधानमन्त्री ओलीले सकारात्मक रुपमा लिएको बताइएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समुदायमा कोरोना संक्रमणको स्तर हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय लिन सरकारलाई सुझाव दिएका छन् ।

छलफलमा सहभागी सभापति देउवाले भने, ‘फेरि लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा समुदायमा संक्रमणको स्तर कस्तो छ त्यसलाई हेरेर गर्न उचित हुन्छ ।’

देउवाले हरेक मानिसलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडा नियम लगाउनु पर्नेमा जोड दिएका छन् ।

विज्ञहरुले कडाउन गर्न सुझाव दिए पनि कोरोना क्राइसिस म्यानेजमेन्ट (सीसीएमसी) को सिफारिश र क्याविनेटको निर्णय भए पनि मात्रै लकडाउन घोषणा गरिने छ ।

 

प्रतिक्रिया
सम्बन्धित