२९ आश्विन २०८३, बिहिबार

आममाफी पाएका ४१३ श्रमिकको उद्धार गर्न सरकारले प्रक्रिया अगाडि बढायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । विभिन्न देशमा आममाफी पाएर पनि स्वदेश फर्किन नपाएका ४१३ नेपाली श्रमिकलाई सरकारले स्वदेश फर्काउने प्रक्रिया अगाडि बढाएको छ ।

विभिन्न देशमा अवैधानिक बनेका उनीहरुलाई सम्बन्धित देश र त्यहाँको सरकारले आममाफी दिएपछि स्वदेश फर्किने बाटो खुलेको हो । तर, विश्वव्यापी कारोना भाइरस संक्रमणका कारण हवाई उडानहरु बन्द भएका कारण उनीहरुले पाएको सुनौलो मौका सदुपयोग गर्न पाइरहेका थिएनन् ।

सोही विषयलाई दृष्टिगत गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयको सहयोगमा आममाफी पाएकाहरूको विवरण संकलन गरी उद्धार प्रक्रिया अगाडि बढाएको हो । उनीहरुको उद्धारका लागि मन्त्रालयले संकलन गरेको विवरण कोरोना महामारी संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा सिफारिश गरेको बताइएको छ ।

सीसीएमसीमा प्रस्ताव पुगिसकेकाले के कसरी ल्याउने भन्नेबारे निर्णय गरेर उद्धारको काम अघि बढ्ने मन्त्रालयको भनाइ छ । सीसीएमसीको बैठकले मापदण्ड र प्रक्रिया निर्धारण गरेबमोजि उनीहरुको उद्धार हुने मन्त्रालयले बताएको छ ।

स्वदेश फर्किने खर्च व्यवस्थापन सरकारले गर्ने वा श्रमिक आफैंले भन्ने विषयमा सीसीएमसीले नै निर्णय लिने मन्त्रालयको भनाइ छ ।

यस्तै, महामारीले खाडी मुलुकमा रोजगारी गुमाएर तथा भिसा अवधि सकिएर अप्ठ्यारोमा परेका बेखर्ची श्रमिकले उद्धारका लागि ३ महीनाभन्दा बढी समयदेखि हारगुहार गरिरहेका छन् । उनीहरूको उद्धारबारे सरकारले अझै निर्णय लिन सकेको छैन ।

सरकारले जेठ अन्तिम सातादेखि शुरु गरेको चार्टर्ड उडानमार्फत ३० हजारभन्दा बढी श्रमिकको उद्धार गरिसकेको छ ।