शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अष्ट्रेलियामा नेपालीमाथि ठगी धन्दा चलाउने एक नेपाली यसरी परे प्रहरी फन्दामा

दैनिक नेपाल २०७७ साउन १९ गते २३:५७

काठमाडौं, १९ साउन । हुण्डीमार्फत नेपालबाट अष्ट्रेलिया र अष्ट्रेलियाबाट नेपालमा पैसा पठाइदिने बहानामा ठगी गर्दै आएका एक नेपाली अष्ट्रलियामा पक्राउ परेका छन् ।

लामो समयदेखि विभिन्न बहानामा ठगी धन्दा चालाउँदै आएका मेलवर्न निवासी भरत केसीलाई अष्ट्रेलियन प्रहरीले पक्राउ गरेको हो । त्यहाँस्थित नेपालीहरुबाटै लाखौंं डलर ठगेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

करीब ७ वर्षदेखि उनले हुण्डीमार्फत पैसा पठाउने भन्दै विभिन्न व्यक्तिहरुसँग हजारौं डलर लिएर लाखौंको ठगी गरेको पाइएको छ ।

उनको ठगी धन्दाबाट विशेषगरी अध्ययनका लागि त्यहाँ पुगेका विद्यार्थीहरु अधिकतम पीडित बनेका छन् । नेपालबाट आफन्तले कलेजको शुल्क तिर्न भनेर पठाएको पैसासमेत उनले विभिन्न स्रोत प्रयोग गरी ठगेको उजुरी उनीमाथि परेको छ ।

प्रहरीमा उजुरी लिएर पुग्ने करीब एक दर्जन युवायुवतीको मात्रै करी २ लाख डलर ठगी गरेको उजुरीकर्ताहरुले बताएका छन् । अन्य धरै व्यक्ति केसीबाट ठगिएको हुन सक्ने उनीहरुको भनाइ छ ।

गएको बिहीबार उनी पक्राउ परेका हुन् ।

केसीले यसअघि पनि रकम ठगी गरेको आरोपमा त्यहाँस्थित नेपालीका विभिन्न संस्थाहरुमा उजुरी परेको थियो । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र एनआरएन भिक्टोरियालगायत संस्थाहरुसँगको छलफलमा आफूले लिएको रकम किस्ताबन्दीमा तिर्ने अबदेखि यस्तो गल्ती नगर्ने बचनवद्धता व्यक्त गरेका थिए ।

तर, फेरि पनि उनले आफ्नो धन्दा चलाउन थालेपछि पीडितहरुले त्यहाँस्थित नेपाली दूतावासमा उजुरी गरेका थिए । सोही उजुरीको आधारमा उनलाई त्यहाँको प्रहरीले पक्राउ गरेको हो ।

त्यहाँस्थित नेपालीहरुले कहाँबाट कसरी पैसा ल्याउँदै छन् र कहाँबाट कति पैसा पठाउँदै छन् भन्ने विषयको जानकारी उनले विभिन्न सामाजिक सञ्जालहरुबाट पत्ता लगाउने गरेको पनि प्रहरीले पत्ता लगाएको छ ।

सूचना संकलन गरिसकेपछि म्यासेन्जरमा कुराकानी गर्ने, पैसा पठाईदिने भन्दै हात पार्ने र आफ्नो खातामा जम्मा गर्ने गरेको खुलेको छ ।
यसरी पैसा जम्मा गर्दा पनि उनले पैसा जम्मा भएको भाचर र चेकहरु नक्कली प्रयोग गरी सम्बन्धित व्यक्तिहरुलाई नक्कली चेक तथा भौचरको स्क्रिनसट पठाएर झुक्याउने गरेको पाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित