
काठमाडौं, १९ साउन । मलेसियामा नेपाली सेक्युरेटी गार्ड कुटिएकोसम्बन्धी केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भएको भिडियोसम्बन्धी नयाँ तथ्य फेला परेको छ ।
नयाँ तथ्यअनुसार कुट्ने र कुटिने (पीडक–पीडित) दुबै नेपाली नै भएको पत्ता लागेको छ ।
मलेसियास्थित नेपाली दूतावासले घटनाको अध्ययन गरेपछि नयाँ तथ्य पत्ता लागेको हो । दूतावासका अनुसार उक्त घटना गत जुलाई ७ मा क्वालालम्पुरको एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको पत्ता लागेको हो ।
पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ भएको दूतावासले बताएको छ । उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आइसकेका छन् ।
दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकार गरेको दूतावासले बताएको छ । पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको खुलेको छ ।
पीडक र पीडित दुबैजना अवैधानिक कामदार रहेको पनि दूतावासले पत्ता लगाएको छ ।
तर, घटनाबारे थप अनुसन्धान भने मलेसियन प्रहरीले गरिरहेको छ । घटनाका पिडक भनिएका व्यक्ति नेपाली नै भए पनि गलत र स्वार्थपूर्ण ढंगले प्रस्तुत भएको हुन सक्ने अनुमान त्यहाँको प्रहरीले गरेको छ ।
यसअघि त्यहाँको प्रहरीले कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको अनुमान गरेको थियो । त्यतिमात्र होइन कतिपय नेपाली सञ्चारमाध्यमले कुट्ने व्यक्तिलाई स्पष्ट चिन्ने र आफूले समेत उनको दुरव्यवहार भोगेको बताउने रिर्टनी कामदारको प्रतिक्रिया समेत प्रकाशित गरिसकेका छन् ।













प्रतिक्रिया