
काठमाडौं, १८ साउन । करीब ३ घन्टादेखि बालुवाटारमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ ।
तर, छलफलमा अध्यक्षद्वयबीच सम्वादलाई निरन्तरता दिने सहमति भए पनि थप विषय नेताहरुले खुलाएका छैनन् ।
यद्यपि छलफल सकारात्मक भएको छलफलमा सहभागी नेता सुवास नेम्वाङले बताए ।
आइतबार भएको ओली–प्रचण्डबीचको छलफलमा बरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङ पनि सहभागी थिए ।
पार्टीभित्र चुलिँदै गएको विवादका कारण गत मंगलबारयता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वादको वातावरण बन्न सकेको थिएन ।
खासगरी गत गत मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केपी ओलीले अकस्मात स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका अधिकांश नेताहरु रुष्ट बनेका छन् ।
ओलीले बैठक स्थगित गरेपछि प्रचण्डले ‘बहुमत स्थायी कमिटी बैठक’ सञ्चालन गरेपछि केपी ओली पनि प्रचण्डलगायत नेतासँग रुष्ट थिए । ‘बहुमत स्थायी कमिटी’ बैठकले ओलीसँग सम्वाद गरेर निकास निकाल्न प्रचण्डलाई अख्तियारी दिएको भए पनि सम्वादको वातावरण नबनिरहेको बेला आज भएको छलफललाई निकै महत्वका साथ हेरिएको थियो ।
तर, ३ घन्टा चलेको छलफलमा नेताहरुले पुनः आ–आफ्नो अडान दोहोर्याएको बताइएको छ । यसले गर्दा कुनै पनि विषयमा स्पष्ट छलफल नभएको बताइएको छ ।













प्रतिक्रिया