मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

यी हुन् काठमाडौंमा बसेर देउवालाई गाली गर्ने सभापतिहरू, आफ्नै जिल्लामा कांग्रेस भताभुङग

दैनिक नेपाल २०७७ साउन १८ गते ८:३९

काठमाडौं, १८ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काम गर्न सकेनन्, पार्टीलाई ध्वस्त बनाएर भनेर आरोप लगाउने जिल्ला सभापतिहरूमाथि ठूलो नैतिक प्रश्न उठेको छ ।

विशेष गरेर वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइराला निकट मानिने जिल्ला सभापतिहरूले आफ्ना जिल्लामा कांग्रेसको संगठनलाई भताभुङ्ग बनाएको आरोप लागेको छ । नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसी, काभ्रेका मधु आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, धादिङका सभापति रमेश धमला, काठमाडौंका सबुजकृष्ण बानियाँ, सिन्धुलीका उज्वल बराल, सिन्धुपाल्चाेकका विकास लामा लगायतका जिल्लामा कांग्रेस अत्यन्तै कमजोर अवस्थामा पुगेका छन् ।

यी जिल्ला सभापतिहरू अधिकांश काठमाडौंमा अड्डा जमाएर बसेका छन् । बेलाबेला गुटको भेला गर्ने र सभापति देउवालाई गाली गरेर दिन बिताउने गर्छन् । देउवालाई गाली गर्दैगर्दा आफ्नो जिल्लाको कांग्रेस कस्तो छ भनेर हेर्नु पर्दैन ? जिल्ला सुध्रिएर आउने हो भने केन्द्रको कांग्रेसलाई सुधार गर्न सकिन्छ । देउवालाई दवाव दिन सकिन्छ । तर, देउवालाई मात्रै दोष देखाएर पौडेल–कोइराला निकटका जिल्ला सभापतिहरू बच्न चाहन्छन् । देउवालाई काठमाडौंमा बसेर गाली गर्नुभन्दा जिल्ला गएर कोरोना, बाढीपहिरोबाट जनताको उद्धार गर्दा संगठनलाई फाइदा हुने थियो । तर, जिल्ला सभापतिहरू काठमाडौं छोड्न मान्दैनन् ।

देउवालाई काठमाडाैंमा बसेर कांग्रेस बिगायाे भन्ने यी सभापतिहरूले आफ्नै जिल्लामा रहेकाे विवाद अहिलेसम्म समाधान गर्न सकेका छैनन् । उनीहरूकाे जिल्लामा कांग्रेसभित्र ठूलाे विवाद छ । नुवाकाेटमा केसी र महत परिवारकाे ठूलाे लडाइँ छ । सिन्धुपाल्चाेकमा केन्द्रीय सदस्य माेहनबहादुर बस्नेत सभापति विकास लामाकाे कार्यक्रममा नगएकाे चार वर्षभन्दा धेरै भइसक्याे । उज्वल बरालका कारण सिन्धुलीमा कांग्रेस समाप्त हुने अवस्थामा छ । सिन्धुलीमा कांग्रेसकाे गतिविधि शून्य सरह छ । विवादले धादिङमा सभापति रमेश धमलाका कारण प्रतिनिधि सभामा जित्ने सिट पनि गुमाएकाे छ । धमलालाई हटाउन उनी निकटकै नेताहरू लागेका छन् । काभ्रेका सभापति मधु आचार्य र केन्द्रीय सदस्य शिव हुँमागाइँबीच बाेलचाल नै छैन ।

उता, देउवाले विभागहरू बनाएपछि पौडेल–कोइराला समूह झन् झस्किएका छन् । विभागमा बस्नका लागि पौडेल–कोइरालाका नेताहरू गुट परिवर्तनसम्मको तयारीमा छन् । महिला विभागकी सचिव लक्ष्मी खतिवडा, प्रतिष्ठानको युवा संयोजक रञ्जीत कर्णलगायतले पौडेल समूह छाडिसकेका छन् । विभागमा बस्नकै लागि गुट परिवर्तन गर्नेको समूह धेरै ठूलो छ । यो कुरा चाल पाएर पौडेल–कोइराला समूहले नेताहरू रोक्न विरोध पत्र समेत दर्ता गराइसकेका छन् । त्यो विरोध पत्रको कुनै पनि अर्थ छैन ।

पौडेल–कोइराला समूहले महाधिवेशनको बहाना बनाएर विभाग विस्तारमा अबरोध गर्न खोजेको छ । पौडेल–कोइराला समूहलाई देउवाले ६०–४० को भागबण्डाअनुसार ४० प्रतिशत दिएका छन् । त्यो चालीस प्रतिशतमा पौडेल–कोइराला समूहका धेरै उपगुटभित्र बाँड्नु पर्ने भएपछि महाधिवेशनका बेला नेताहरू रिसाउँछन् भनेर रणनैतिक रुपमा पौडेल–कोइराला समूहले बहिस्कारको नीति लिएको छ ।

तर, नेता कृष्णप्रसाद सिटौलाले आफ्ना नेताहरूलाई संरक्षण गर्ने रणनीति बनाएका छन् । देउवाले सिटौलालाई आफ्नै भागबाट १५ प्रतिशत दिएका छन् । सिटौलाले त्यो भागमा आफ्नो नेताहरूलाई व्यवस्थापन गरेका छन् । सिटौलाले देउवालाई साथ दिएका छन् । देउवा र सिटौला मिल्ने हो भने पौडेल–कोइराला समूह पछाडि पर्ने पक्का छ ।

यसैबीच, कांग्रेसले नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ विस्तारका लागि तयारी गरेको छ । तरुण दल र नेविसंघमा पदाधिकारी र सदस्यहरू सिफारिस गर्नका लागि पौडेल–कोइराला समूहले हृदयराम थामीको संयोजकत्वमा समिति नै बनाएको छ । समितिको सदस्यमा रामकृष्ण यादव र सरिता प्रसाइँ सदस्य रहेका छन् । उनीहरूले पौडेल–कोइराला समूहबाट सूची तयार पारेर बुझाउनेछन् । त्यसपछि तरुण दल र नेविसंघको केन्द्रीय कार्यसमिति विस्तार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित