बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

राेल्पामा कुटपिटबाट एक जनाको मृत्यु, १४ जना गाउँले पक्राउ

दैनिक नेपाल २०७७ साउन १८ गते ८:२८

रोल्पा, १८ साउन । राेल्पा जिल्लामा चोरी अभियोगमा कुटपिट गर्दा एक जनाको मृत्यु भएको छ ।

रुन्टीगढी गाउँपालिका-६​ डुब्रीङ सालडाँडाका २८ वर्षीय ईश्वर बस्नेतको शनिबार कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

छिमेकी टेकबहादुर बुढाको घरमा लुटपाट गरेको आरोप लागेपछि बस्नेतलाई स्थानीयले कुटपिट गरेका थिए । कुटपिटबाट उनको मृत्यु भएको प्रहरी भनाइ छ ।

ईश्वरले शुक्रबार साँझ ७ बजे लुटपाट गरेको खबर पाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।

उनले टेक बहादुरको पाँच हजार र हातको घडी लुटेको आरोप छ ।

त्यसपछि गाउँलेहरुसहित लुटिएका आफन्त आरोपित बस्नेतको घरमा राति पुगेका थिए । बस्नेत भाग्न खोजेपछि गाउँलेले उनलाई समातेर कुटपिट गरेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय होलेरीका इन्चार्ज प्रहरी निरीक्षक लेखनाथ चापागाईंले घटनाको अनुसन्धान जारी रहेको बताए ।

कुटपिटबाट गम्भीर घाइते भएका बस्‍नेतलाई कुटपिटमा संलग्नहरुले नै डुब्रीङस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार गर्न पुर्‍याएका थिए ।

गम्भीर अवस्थाका ईश्वरलाई स्वास्थ्यकर्मीले दाङ रेफर गरे । थप उपचारका लागि दाङ लैजादै गर्दा शनिबार बिहान बाटोमै उनको मृत्यु भएको चापगाईंले बताए ।

कुटपिटमा संलग्न रहेको आशंकामा स्थानीय १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित