शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्– पार्टीभित्रको वहस पदको छिनाझपटी होइन

पार्टी एकता जोगाउने नाममा पार्टीभित्रको गलत प्रवृत्तिलाई ढाकछोप चाहिँ गर्नु हुँदैन

दैनिक नेपाल २०७७ साउन १७ गते १५:५८

काठमाडौं, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र भइरहेको वहस पदको छिनाझपटी नभएको बताएका छन् ।

नेकपाभित्रको वहसलाई केवल पद पाउने मेसो मात्रै भएको भन्दै मिडियाले गलत प्रचार गरेको उनको भनाइ छ । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले पार्टीभित्र गलत विचार र प्रवृतिलाई सच्याउन वहस भइरहेको जिकिर गरे ।

‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ, पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने, पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो’, उनले भने ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ छ । उनले अगाडि भने, ‘कुनै पनि बाहनामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहना हामीले प्रष्टसँग बुझेका छौं तर, पार्टी एकता जोगाउने नाममा पार्टीभित्र विभिन्न विचार, प्रवृत्ति र इस्युहरुको बहसलाई ढाकछोप चाहिँ गर्नु हुँदैन ।’ जारी वहसले पार्टीलाई अझ उच्चस्तरमा पुर्याउने प्रचण्डको भनाइ छ ।

नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष समेत रहेको दाहाल–नेपाल समूहबीच विवाद चर्किएको छ ।

प्रतिक्रिया
सम्बन्धित