२९ आश्विन २०८३, बिहिबार

नेकपा अध्यक्ष प्रचण्ड भन्छन्– पार्टीभित्रको वहस पदको छिनाझपटी होइन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र भइरहेको वहस पदको छिनाझपटी नभएको बताएका छन् ।

नेकपाभित्रको वहसलाई केवल पद पाउने मेसो मात्रै भएको भन्दै मिडियाले गलत प्रचार गरेको उनको भनाइ छ । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले पार्टीभित्र गलत विचार र प्रवृतिलाई सच्याउन वहस भइरहेको जिकिर गरे ।

‘पार्टीभित्र चलेको बहसलाई नेतृत्वको पद प्राप्तिका लागि छिनाझपटी हो भन्ने प्रचार गरिएको छ, पदको छिनाझपटी होइन । यो पार्टीलाई कसरी अगाडि बढाउने, पार्टीको विचार, मान्यता, विधि, पद्दति कस्तो हुनुपर्छ भन्ने बहस हो’, उनले भने ।

पार्टीलाई विचार र विधिबाट चलाउनुपर्ने भनेर अहिले बहस भइरहेको दाहालको भनाइ छ । उनले अगाडि भने, ‘कुनै पनि बाहनामा पार्टी विभाजन हुनुहुँदैन भन्ने जनताको चाहना हामीले प्रष्टसँग बुझेका छौं तर, पार्टी एकता जोगाउने नाममा पार्टीभित्र विभिन्न विचार, प्रवृत्ति र इस्युहरुको बहसलाई ढाकछोप चाहिँ गर्नु हुँदैन ।’ जारी वहसले पार्टीलाई अझ उच्चस्तरमा पुर्याउने प्रचण्डको भनाइ छ ।

नेकपाभित्र पछिल्लो समय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष समेत रहेको दाहाल–नेपाल समूहबीच विवाद चर्किएको छ ।