बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

उपसचिव प्रेम सञ्जेलमाथि करारका महिला कर्मचारीद्वारा कुटपिट

२४ सै घण्टा महिला कर्मचारीलाई कार्यालयमा राखेको आरोप

दैनिक नेपाल २०७७ साउन १७ गते १५:०६

फाइल तस्वीर

विराटनगर, १७ साउन । भ्रष्टाचारविरोधी अभिव्यक्ति दिँदै आएका सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन् । उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कुटपिट गरेको प्रहरीको भनाइ छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताइएको छ ।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ । दुबैजना कार्यालयमा करारमा काम गर्ने कर्मचारी हुन् ।

कुटपिटमा संलग्न महिला कर्मचारीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । कुटपिटबाट सञ्जेलको शरीरका विभिन्न ठाउँमा सानातिना चोट चालेको बताइएको छ ।

श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायब सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए ।

दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराईको बहिनी ज्वाईँ हुन् ।

केही दिनअघि कार्यालयको पानी तान्ने मोटर चोरी भएपछि सञ्जेलले कार्यालयको सामग्रहीको सुरक्षा गर्न भन्दै करारका कार्यालय सहायक मध्ये २/२ जना गरेर पालो गराएर २४ घण्टा नै ड्युटीमा खटाएका थिए । महिला कर्मचारीलाई २४ घण्टा नै ड्युटीमा लगाएको भनेर पनि उनीहरु आक्रोशित हुँदै आएको बताइएको छ ।

सञ्जेल विदाको दिनमा पनि कार्यालयमा काम गर्ने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित