शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

कोरोनाको उच्च जोखिममा परेको काठमाडौं उपत्यकामा लकडाउनको सम्भावना !

दैनिक नेपाल २०७७ साउन १७ गते ११:५७

काठमाडौं, १७ साउन । सरकारले करीब ४ महीना लामो लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा परेको छ ।

पछिल्लो केही दिनयता संक्रमितको संख्या तीव्र वृद्धि भएसँगै काठमाडौं उपत्यका दिनदिनै खतरापूर्ण अवस्थामा प्रवेश गर्ने चरणमा छ ।

कोरोना संक्रमणको सम्भावना पूर्णरुपमा अन्त्य भएजसरी उच्च जनघनत्व भएको उपत्यकामा सवारीसाधानसहितको लकडाउन खुला गरिँदा तथा बाहिरबाट भित्रिने व्यक्तिलाई नियन्त्रण गर्न नसक्दा काठमाडौं खतरामा परेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा ३८ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ३२ जना, ललितपुरमा ५ जना, र भक्तपुरमा १ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्या ५९७ पुगेको छ । यसमध्ये उपत्यकामा कोरोना संक्रमणको संख्या काठमाण्डौंमा ४२३ जना, ललितपुरमा ९७ जना र भक्तपुरमा ५७ जना पुगेको छ ।

पछिल्ला दिनहरुमा प्रहरी अधिकारीहरु, भीडभाड हुने व्यापारिक क्षेत्र, तरकारी तथा फलफूल पसलहरुको सम्पर्कमा रहेका व्यक्ति तथा कुनै पनि ट्राभल हिस्ट्री नभएकाहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि काठमाडौं उच्च जोखिममा परेको अनुमान गर्न सकिन्छ ।

साथै समुदायमा कोरोना फैलिन थालेको संकेत समेत संक्रमितको संख्याहरुले देखाउन थालेका छ ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौं उपत्यकामा जोखिम ह्वात्तै बढेसँगै थप परीक्षण तथा अनुसन्धानको काम तीव्र पारिएको छ । अहिले नै समुदायमा कोरोना फैलिसकेको भन्ने आधार नभए पनि जोखिम भने निकै बढेको महाशाखाको भनाइ छ ।

काठमाडौं उपत्यकामा संक्रमित थपिने क्रम बढेपछि सरकारले काठमाडौं भित्रिने नाकाहरुमा स्वाब संकलन गरेर परीक्षण गर्न समेत थालेको छ । यसरी गरिएका परीक्षणमा पनि कोरोना सङ्क्रमणको दर तीव्र छ ।

आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै घरबाहिर निस्कन अपिल गर्दै सरकारले लकडाउन खुकुलो बनाएको भए पनि उच्च जनघनत्व रहेको उपत्यकामा मानिसहरुले चाहेर पनि सुरक्षामा उपाय अपनाउन तथा एकअर्काबाट टाढा रहन सकेका छैनन् ।

नाकामा कमजोर नियन्त्रण र काठमाडौंको भीडभाडका कारण उपत्यकाले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था सृजना हुन धेरै समय नलाग्ने डा. जागेश्वर गौतम बताउँछन् ।

यही अनुपातमा संक्रमितको संख्या वृद्धि भइरहे आगामी भदौ १ गतेबाट खोल्ने भनिएका विद्यालय र अन्य क्षेत्र खुल्नुको साटो काठमाडौंमापुन लकडाउन गरेर अवस्था नियन्त्रण गर्नु पर्ने अवस्था देखिन थालेको छ ।

संक्रमितको संख्या यसरी नै बढिरहे र नियन्त्रणमा ढिला गर्दा संक्रमितले उपचार पाउन कठिन हुने समस्या पनि देखिने खतरा बढ्दै गएको ।

प्रतिक्रिया
सम्बन्धित